
गान्तोक, 24 फरवरी (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले हालैमा अरुणाचल प्रदेशका महिलाहरूमाथि नयाँ दिल्लीमा भएको जातीय भेदभावको घटनाप्रति गहिरो चिन्ता प्रकट गर्दै उक्त घटनालाई दुर्भाग्यपूर्ण बताएका छन्। उनले पूर्वोत्तर पनि भारतकै अभिन्न अंग हो भन्दै प्रत्येक नागरिक मर्यादा, समानता र सम्मानको हकदार रहेको बताएका छन्।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा उक्त घटनाको उल्लेख गर्दै लेखेका छन्, 'अरुणाचल प्रदेशका महिलाहरूमाथि हालैमा नयाँ दिल्लीमा भएको जातीय भेदभावको घटना चिन्ताजनक र दुर्भाग्यपूर्ण छ। यस्ता घटनाहरूले हामीलाई सधैं मर्यादा र पारस्परिक सम्मान कायम राख्नुको महत्त्वको सम्झना गराउँछन्।'
मुख्यमन्त्रीले भने, 'पूर्वोत्तर हाम्रो राष्ट्रको अभिन्न अंग हो र प्रत्येक नागरिक मर्यादा, समानता र सम्मानको हकदार छन्। हामी एकअर्काप्रति सचेत रहौं र यस्तो समाजको लागि प्रयास जारी राखौं, जुन समझदारी, मर्यादा र पारस्परिक सम्मानमा आधारित होस्।'
उल्लेखनीय छ, राष्ट्रिय राजधानीको दक्षिण दिल्ली अन्तर्गत मालवीय नगरमा अरुणाचल प्रदेशका तीन महिलाहरूमाथि हालैमा जातीय दुर्व्यवहारको घटना भएको कुरा प्रकाशमा आएको थियो। यस घटनाको सम्पूर्ण पूर्वोत्तर राज्यहरूमा तीव्र निन्दा भइरहेको छ। यस क्षेत्रका मानिसहरूले घटनामा संलग्न आरोपीहरू विरुद्ध कड़ा कारबाहीको माग गरिरहेका छन्।
हिन्दुस्थान समाचार / बिशाल