
खरसाङ, 24 फरवरी (हि.स.)। महानदीमा भारतीय नेपाली साहित्यको पहिलो फेलो साहित्यकार असीत राईको सालिग स्थापनाको लागि असीत राई स्मृति साहित्यिक संस्था तीनधारे महानदी समष्टिका पदाधिकारीहरुले महानदीमा स्थलगत निरीक्षण गरेर सालिग राख्ने ठाउँ चिन्हित गर्नुका साथै सालिग राख्ने ठाउँ बनाउन पहल शुरु गरेका छन्।
महानदीमा साहित्यकार असीत राईको सालिग स्थापनाको लागि ठाउँ बनाउने कार्य शुरु हुने भएको छ। यसका लागि असीत राई स्मृति साहित्यिक संस्था तीनधारे महानदी समष्टिका पदाधिकारीहरुले स्थानको चयन गरेर नापजोख गर्ने काम शुरु गरिहाल्ने बताएका छन्।
साहित्यकार असीत राईको सालिग महानदी बजारको मोटर स्ट्याण्डको शहीद बेदी नजिक स्थापना गरिने भएको छ। उक्त सालिग स्थापनाका लागि जीटीए प्रमुख अनित थापाले सहयोग गरेका छन् भने सालिग राख्नका लागि ठाउँ बनाउने कार्यमा खरसाङ पञ्चायत समितिकी सभापति अनु छेत्रीको तर्फबाट सहयोग गरिएको जानकारी प्राप्त भएको छ।
असीत राई स्मृति साहित्यिक संस्था तीनधारे महानदी समष्टिका सभापति शेखरचन्द्र प्रधानले साहित्यकार असीत राईको सालिग स्थापनाको लागि सहयोग गरेकोमा जीटीए प्रमुख अनित थापा र खरसाङ पञ्चायत समितिकी सभापति अनु छेत्रीलाई धन्यवाद दिए। उनले साहित्यकार असीत राईको सालिग महानदीमा केही समयमा स्थापना गरिने र यसका लागि काम भइरहेको बताए।
हिन्दुस्थान समाचार / हनोक