
खरसाङ, 24 फरवरी (हि.स.)। खरसाङका युवाहरूद्वारा गठित ट्रेकिङ समूह ‘लोकल ट्रेकर्स’ ले मंगलवार सुकनादेखि खरसाङसम्म लगभग 38 किलोमिटर लामो साहसिक पदयात्रा सफलतापूर्वक सम्पन्न गरेका छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण एनएच 110 को बाटो हुँदै गरिएको यस ट्रेकिङमा आठजना युवाहरूको सक्रिय सहभागिता रहेको थियो।
उक्त ट्रेकिङ यात्रा बिहान 6 बजीदेखि सुकनाबाट शुरु भई विभिन्न जंगल, खोल्सा पार गर्दै साँझ 6 बजी खरसाङ पुगेर सम्पन्न भयो। यस ट्रेकिङमा सहभागी युवाहरूले यात्रालाई केवल शारीरिक अभ्यास मात्र नभई पर्यावरण संरक्षण र स्थानीय पर्यटन प्रवर्द्धनको अभियानका रूपमा लिएका थिए।
लोकल ट्रेकर्सका संस्थापक नर्बु शेर्पाले बताए अनुसार, यस्तो गतिविधिले युवाहरूमा स्वास्थ्यप्रति जागरूकता बढाउनुका साथै स्थानीय प्राकृतिक सम्पदाको प्रचार–प्रसारमा समेत महत्वपूर्ण भूमिका खेल्नेछ। लोकल ट्रेकर्स 2022 मा स्थापना भएको हो। चार सालको अन्तरालमा यसले खरसाङका धेरै ठाउँहरूमा ट्रेकिङ गरिसहेको छ। आगामी दिनमा पनि यस्ता नियमित कार्यक्रमहरू आयोजना गर्दै खरसाङ क्षेत्रलाई ट्रेकिङ गन्तव्यका रूपमा चिनाउन पहल गर्ने योजना रहेको छ।
हिन्दुस्थान समाचार / हनोक