
सोनादा, 24 फरवरी (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) को दार्जिलिङ अभियान्त्रिकी विभागको तर्फबाट रंगबुल धोतरिया रंगमुक समष्टि अन्तर्गत मुण्डाकोठी देवीस्थान जंक्शनदेखि अप्पर फारस गाउँसम्म कालो अलकत्रे सड़क निर्माणको लागि शिलान्यास गरिएको छ। समष्टिका क्षेत्रीय सभासद एवं जीटीएका डेपुटी चेयरम्यान राजेस चौहानको बाहुलीद्वारा शिलान्यास सम्पन्न गरियो।
शिलान्यास कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) का केन्द्रिय महासचिव अमर लामा, पूर्व सभासद महेन्द्र प्रधान, मुण्डाकोठी ग्राम पञ्चायतकी पञ्चायत प्रधान सरस्वती सुब्बा तामाङ, उप प्रधान भरत सुब्बा तथा अन्यहरू उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सभासद चौहानले यस क्षेत्रका जनताले जीटीए प्रमुख अनित थापाप्रति देखाएको विश्वास र सहयोगको फलस्वरूप यस समष्टिका समस्याहरू समाधानतर्फ लम्किरहेको बताए। उनले पुस्तौंदेखि धेरै व्यवस्थाहरुदेखि ओझेलमा परेको ठाउँमा जीटीए प्रमुखको पारदर्शिता र उदार ह्रदयका कारण काम भइरहेको बताए।
चौहानले भने, यो शिलान्यास भएपछि एक वर्षभित्र निर्माण कार्य पूरा हुनुपर्छ। सरकारले यो बाटो निर्माणको लागि एक वर्षको समय दिएको छ। यो ठाउँ सबैको नजरमा ओझेलमा परेको थियो। तर, हामीले यहाँ नफल्ने नरिवल होइन फल्ने नरिवल नै फुटाएका छौँ। हामी कार्यमा विश्वास गर्छौँ। हाम्रो पार्टी अध्यक्ष अनित थापाले भने अनुसार कर्म नै हाम्रो सिद्धान्त हो।' उनले मुण्डामा धेरै विकास कार्य भइरहेको पनि दावी गरे।
हिन्दुस्थान समाचार / हनोक