शिक्षा विभागले गऱ्यो रैथाने भाषाका मास्टर ट्रेनिहरूको निम्ति तीन दिने इन हाउस कार्यशाला
Education workshop


गान्तोक, 25 फरवरी (हि.स.)। सिक्किम सरकारको शिक्षा विभागको तत्परतामा नेपाली लगायत रैथाने भाषाका प्राथमिक तहसम्मका मास्टर ट्रेनीहरूका लागि तीन दिने आवासीय इन हाउस कार्यशाला सम्पन्न भयो। राष्ट्रिय शिक्षा नीति २०२० अनुसार भाषा शिक्षण तथा सिकाइलाई सुदृढ बनाउने नाराको साथ सिक्किमका आठवटा रैथाने भाषा राई, तामाङ, शेर्पा, गुरुङ, मंगर, नेवार, मुखिया, भुजेल र नेपाली भाषाका शिक्षकहरूलाई कार्यशालामा सहभागि गराइएको थियो।

सबै भाषाका दुई दुईजना श्रोत वक्ताहरूका साथमा आयोजित कार्यशालामा 63 जना मास्टर ट्रेनरले सहभागिता दिएको तथा एससीआरटीका सह प्राध्यपक रोशनी शर्माले सिकाइ मापदण्डहरूलाई उद्देश्यबाट सिकाइ उपलब्धिसम्मको दृष्टिकोण विषयमा प्रशिक्षुहरूलाई जानकारी प्रदान गरेकी थिइन्।

यसैगरी, शिक्षा विभागका भूतपूर्व निदेशक तथा भाषाविज्ञ रूद्र पौड्यालले आफ्नो मन्तव्यमा भाषाको महत्वबारे कार्यशालामा उपस्थिति शिक्षकहरूलाई विशेष जानकारी गराए। कार्यक्रममा शिक्षा विभागको तर्फबाट रैथाने भाषा विकास बोर्डका प्रभारी तथा उप निदेशक सुधा राईले कार्यशाला आयोजन गर्नुको मुख्य उद्देश्यबारे प्रकाश पारिन्। उनले कार्यशाला आयोजन गरेर राज्यमा रहेको रैथाने भाषा विकासको निम्ति विभागले गरिरहेको पहलमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने तथा प्रशिक्षण प्रदान गर्ने शिक्षकहरूको गुणस्तरमा बढोत्तरी गर्ने बताइन्।

एटीबीओ मुखिया भाषा नारीलता मुखियाले स्वागत मन्तव्य राखेर आरम्भ गरिएको कार्यक्रमको सञ्चालन गुरुङ भाषाका पाठ्यपुस्तक अधिकारी रूपराज गुरुङले गरेका थिए। गत 23 फरवरीदेखि 25 फरवरीसम्म चलेको कार्यशालामा लर्निङ टिचिङ मेट्रियलस् स्याम्पल (एलटीएम) बनाउने तथा पाठ्यपुस्तक विकास, सामुहिक प्रस्तुती जस्ता महत्वपूर्ण कार्यहरू गरिएको थियो।

सबै रैथाने भाषाका दुई दुईजना श्रोत वक्ताहरूले कार्यशालामा आफ्नो प्रस्तुती र प्रशिक्षण प्रदान गरेको जानकारी उप निदेशक राईले दिएकी छन्। कार्यशालाले प्रशिक्षकहरूलाई धेरै सहयोग पुगेको तथा राज्यभरिका भाषा शिक्षकहरूको निम्ति यसले महत्वपूर्ण फाइदा पुग्ने समापन सत्रमा अनुभव साझा गर्दै शिक्षकहरूले मन्तव्य जाहेर गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande