
जलपाईगुड़ी, 25 फरवरी (हि. स)। जिल्लाको राजगञ्जमा हेपाटाइटिस संक्रमणको बढ़्दो अवस्थाबीच अन्धविश्वासमाथि लगाम कस्नको लागि स्वास्थ्य विभाग सक्रिय भएको छ। ब्लक स्वास्थ्य विभागको विशेष टीमले बुधवार संक्रमित गाउँहरूको घर-घरमा पुगेर जागरूकता अभियान संचालन गऱ्यो। स्वास्थ्य कर्मीहरूले ग्रामीणहरूसित प्रत्यक्ष बातचित गर्दै बताए, हेपाटाइटिसको लक्षण देखिनसाथ तुरून्तै अस्पतालमा उपचार गराउन आवश्यक छ।
ब्लक स्वास्थ्य अधिकारी राहुल रायले भने, एउटा खबरमा देखाइएको थियो कि हेपाटाइटिसबाट पीड़ित केही मानिसहरू ओझा समक्ष गएका थिए, यसैलाई केन्द्र गर्दै आज उक्त क्षेत्रमा जागरूकता अभियान संचालन गरिएको हो। सम्झाएपछि अब ग्रामीणहरू अस्पताल आउन तयार भएका छन्।
उनले बताए, संक्रमित गाउँहरूमा औषधि तथा स्वास्थ्य सेवाहरू नियमित रूपमा पुऱ्याइँदैछ भने हाल स्थिति नियन्त्रणमै छ।
यता राजगञ्ज ग्रामीण अस्पतातलबाट एघार जना मानिसहरूको रगतको नमूना जाँचको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ। हाल तीनजना रोगीहरू अस्पतालमा भर्ती छन्। पटागढ़ा, कावारबाड़ी, बुड़िर मोड़ औ बड़ुआपाड़ामा नयाँ संक्रमण भएको सूचना प्राप्त भएको छ। संक्रमणको एउटा ठूलो कारण दूषित पेयजललाई मानिँदैछ।
स्थानीय पञ्चायत सदस्यले आरोप लगाए, पर्याप्त पेयजलको व्यवस्था नभएको कारणले मानिसहरूले बाध्य भएर अशुद्ध पानी प्रयोग गरिरहेका छन्। जिल्ला स्वास्थ्य विभागले स्थितिको समीक्षा गरी चाँड़ै समाधान गर्ने भरोसा दिलाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा