सीएपीले संवैधानिक मूल्यमान्यताहरूलाई कायम राख्ने आफ्नो प्रतिबद्धतालाई पुन: दोहोऱ्यायो
सीएपीले संवैधानिक मूल्यमान्यताहरूलाई कायम राख्ने आफ्नो प्रतिबद्धतालाई पुन: दोहोऱ्यायो


गान्तोक, 15 फरवरी (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले आज राज्यपाल ओमप्रकाश माथुरको निमन्त्रणमा राज्यपाललाई लोकभवनमा शिष्टाचार भेट गऱ्यो। प्रतिनिधिमण्डलको अगुवाई पार्टी अध्यक्ष गणेश कुमार राईले गरेका थिए। यस भेटको क्रममा राज्यपालसॅंग अथपूर्ण र रचनात्मक कुराकानी भएको सीएपीले आज प्रेस विज्ञप्तिमा बताएको छ।

भेटघाटको क्रममा प्रतिनिधिमण्डलले सिक्किमका जनताको कल्याण, लोकतान्त्रिक अधिकार र समग्र विकास सम्बन्धी महत्त्वपूर्ण मुद्दाहरूमा व्यापक छलफल गरेको बताइएको छ। सुशासन, पारदर्शिता, युवा सशक्तिकरण, दिगो विकास, सिक्किमको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र संवैधानिक तथा सामाजिक-आर्थिक अधिकारहरूको संरक्षण सम्बन्धी विषयमा विस्तृत रूपमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ।

राज्यको एक प्रमुख विपक्षी राजनीतिक दलको रूपमा सीएपी सिक्किमले भारतीय संविधान अनुसार काम गर्ने र उच्चतम स्तरमा संवैधानिक मूल्यमान्यताहरूलाई कायम राख्ने आफ्नो अटल प्रतिबद्धतालाई पुन: पुष्टि गरेको जनाइएको छ। पार्टीले संविधान भारतीय लोकतन्त्रको मार्गदर्शक सिद्धान्त रहेको र यसलाई सधैं सबै संस्था र राजनीतिक विचारहरूभन्दा माथि राखिनुपर्छ भन्ने कुरामा जोड दियो। सीएपीले आफ्नो राजनीतिक आचरण र सार्वजनिक संलग्नता संवैधानिक नैतिकता, लोकतान्त्रिक सिद्धान्तहरू र कानूनको शासनद्वारा निर्देशित रहने बताएको छ।

सीएपीले राजभवनको नाम लोक भवन राखेकोमा पनि प्रशंसा व्यक्त गर्दै यसले सिक्किमका जनताको कल्याणप्रति पहुँच, समावेशीता र प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ भनेको छ। पार्टीले राज्यपाल माथुरलाई निमन्त्रणा, सौहार्दपूर्ण अन्तरक्रिया र सिक्किमको वृहत्तर हितमा निरन्तर संलग्नताको आश्वासनको लागि हार्दिक आभार व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande