
नाम्ची, 15 फरवरी (हि.स.)। सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा लोअर गाग्योङमा १४५ दिनको गहन तालिम सफलतापूर्वक सम्पन्न भएपछि १० समर्पित हथकरघा प्रशिक्षार्थीहरूलाई व्यक्तिगत वर्कशेड निर्माण एवं एक्सपोजर भ्रमणका लागि आवण्टित आदेश वितरण कार्यक्रममा भाग लिइन्। कार्यक्रम आज गान्तोकको डीएचएचमा आयोजित गरिएको थियो।
विधानसभा उपाध्यक्षद्वारा प्रेस विज्ञप्तिका अनुसार, आज हस्तान्तरण गरिएका आवण्टन आदेशहरू हाम्रा स्थानीय कारीगरहरूको लागि सशक्तिकरण, मर्यादा र दिगो जीविकोपार्जनका अवसरहरूको प्रतीक हुन्। हथकरघा केवल कला मात्र होइन, यो हाम्रो धरोहर र पहिचान हो। यसले हाम्रा मानिसहरूको कथा, परम्परा र सांस्कृतिक समृद्धिलाई एक पुस्ताबाट अर्को पुस्तामा अगाडि बढाउँछ। यस क्षेत्रलाई समर्थन गर्नु भनेको आर्थिक अवसरहरू सिर्जना गर्दै हाम्रो आधार जोगाउनु हो।
उनले यस्ता पहलहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङको 'सुनौलो, समृद्ध र समर्थ सिक्किम' को दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ भनी बताएकी छन्। उनले कौशल विकास र आत्मनिर्भरतामा मुख्यमन्त्रीको निरन्तर जोडले राज्यलाई समावेशी र दिगो विकासतर्फ डोऱ्याइरहेको बताएकी छन्। उनले सबै लाभार्थीहरूलाई बधाई दिॅंदै उनीहरूको भविष्यका प्रयासहरूमा सफलता र समृद्धिको कामना गरेकी छन्
हिन्दुस्थान समाचार / बिशाल