
कुचबिहार, 26 फरवरी (हि.स)। जिल्लाको हल्दीबाड़ीमा विधानसभा चुनाउपूर्व तातिएको राजनीतिक माहोलबीच भारतीय जनता पार्टी (भाजपा) पञ्चायत समिति सदस्य तपन रायमाथि प्राणघातक प्रहार भएको खबर बिहीवार सामु आएको छ।
जानकारी मुताविक गए बुधवार अबेर राती साढ़े एघार बजे तपन राय बाइक मार्फत घर फर्किरहेका थिए। यसैक्रममा देवानगञ्ज ग्राम पञ्चायत अन्तर्गत नगर साहेबगञ्ज क्षेत्रमा पुगेपछि घर नजिकै केही अज्ञात उपद्रवीहरूले उनलाई बाटो छेके। आरोप छ, यी उपद्रवीहरूले उनको देब्रे छात्तीमा चक्कुले प्रहार गरे। गम्भीर रूपमा घाइते तपनलाई पहिला हल्दीबाड़ी ग्रामीण अस्पतालमा लगियो भने स्थिति बिग्रिँदै गएपछि तिनलाई फेरि मेखलीगञ्ज महकुमा अस्पतालमा रेफर गरियो। हाल उनको उपचार जलपाईगुड़ी मेडिकल कलेज एवं अस्पतालमा भइरहेको छ जहाँ उनको स्थिति चिन्ताजनक रहेको बताइएको छ। डाक्टरहरू अनुसार छात्तीमा गहिरो चोट लागेको छ। घटनापछि राजनीतिक आरोप-प्रत्यारोपको सिलसिला शुरू भएको छ।
भाजपाले यस घटनाको पछाड़ि राजनीतिक षड़यन्त्र रहेको आरोप लगाएको छ भने सत्तासिन तृणमूल कंग्रेसले घटनाको राजनीतिसित कुनै सम्बन्ध नरहेको दाबी गर्दै यसलाई व्यक्तिगत शत्रुताको मामिला बताएको छ। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ। अधिकारीहरूको भनाइ छ, जाँचपछि नै हमलाको वास्तविक कारण स्पष्ट हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा