
उत्तर बंगाल, 26 फरवरी (हि.स)। उत्तर बंगालका तीन प्रमुख जिल्लाहरू क्रमैले दक्षिण दिनाजपुर, कुचबिहार र जलपाईगुड़ीमा बिहीवार अपरान्ह ई-मेलको माध्यमबाट धमले उड़ाउने धम्की प्राप्त भएपछि व्यापक कोकोहोलो मचियो। जानकारी अनुसार राज्यका 19 वटा पासपोर्ट केन्द्रहरूलाई बमले उड़ाउने धम्की दिइएको थियो जसपश्चात पुलिस अनि प्रशासन हाई अलर्टमा छ।
दक्षिण दिनाजपुर जिल्लाको बालुरघाट पोस्ट अफिसमा अपरान्ह लगभग 12 बजे कोलकाता रीजनल कार्यालयबाट अलर्टको सन्देश प्राप्त हुनसाथ कर्मचारी अनि ग्राहकहरूमाझ भागाभाग शुरू भयो। सूचना पाउनसाथ वरिष्ठ पुलिस अधिकारीहरूको नेतृत्वमा ठूलो संख्यामा पुलिस बल घटनास्थलमा पुग्यो। सम्पूर्ण परिसरलाई खाली गराएर खोजी अभियान शुरू गरियो। बम निरोधक टीम पनि जाँचमा जुटेको छ।
बालुरघाटको घटना भएको तुरून्तैपछि कुचबिहार पोस्ट अफिसमा पनि बम धम्कीको खबर फैलियो। कोतवाली थानाको पुलिसले सतर्कतास्वरूप डाकघरलाई खाली गराएर सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गऱ्यो। व्यस्त समयमा प्राप्त धम्कीले शहरमा आतंक मचियो तथा सेवाहरूलाई अस्थायी रूपमा स्थगित गर्नुपऱ्यो।
यसै क्रममा जलपाईगुड़ी पोस्ट अफिसलाई पनि धम्कीपूर्ण ई-मेल प्राप्त भयो। पुलिसले मेटल डिटेक्टर र स्निफर डगसितै घटनास्थलमा पुगेर घण्टौंसम्म खोजी अभियान संचालन गऱ्यो। तथापि कुनै पनि प्रकारको संदिग्ध बस्तु फेला परेन, त्यसपछि स्थिति सामान्य रहेको घोषणा गरियो अनि कामकाज पुनः शुरू भयो।
हाल सुरक्षा एजेन्सीहरूले ई-मेलको श्रोत र यस पछाड़ीको सम्भावित षड़यन्त्रको गहन जाँच गरिरहेको छ। प्रारम्भिक रूपमा यसलाई कुतत्वहरूको कृत्य मानिँदैछ, तर पुलिसले हरेक पक्षलाई ध्यानमा राखेर जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा