केन्द्रिय रक्षा राज्यमन्त्रीले उत्तर सिक्किममा चुङथाङ र लाचेनलाई जोड्ने तरम चु स्टिल ब्रिजको उद्घाटन गरे, अत्यावश्यक सम्पर्क पुनःस्थापित
Taram chu bridge inauguration


Taram chu bridge inauguration


Taram chu bridge inauguration


मङ्गन, 26 फरवरी (हि.स.)। भारत सरकारका रक्षा राज्यमन्त्री संजय सेठले बिहिवार उत्तर सिक्किमको चुङथाङ र लाचेन सड़क खण्डमा अत्यन्त महत्वपूर्ण सम्पर्क पुनःस्थापना गर्दै नवनिर्मित तरम चु स्टिल ब्रिजको उद्घाटन गरे। उद्घाटन समारोहमा राज्य समाज कल्याण विभाग मन्त्री तथा लाचेन-मङ्गन निर्वाचन क्षेत्रका विधायक साम्डुप लेप्चा, जिल्लापाल अनन्त जैन, एसपी एलबी छेत्री, ८६ आरसीसी (ग्रेफ), बीआरओ, भारतीय सेना तथा अन्य वरिष्ठ अधिकारीहरू, जनप्रतिनिधि र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

केन्द्रिय रक्षा राज्यमन्त्री संजय सेठ दुई दिवसीय आधिकारिक भ्रमणमा आज सिक्किम आइपुगे। छातेन हेलिप्याडमा आगमनपछि राज्यमन्त्रीलाई चुङथाङका एसडीएम अरुण छेत्री र एसडीपीओ चन्दन छेत्रीले स्वागत गरी उद्घाटन स्थलतर्फ लिएर गए। कार्यक्रमको शुरुवात स्मारक शिलापट्ट अनावरण तथा पुलको औपचारिक उद्घाटनबाट भएको थियो। त्यसपछि परम्परागत धार्मिक विधि सम्पन्न गरियो। परियोजना स्वस्तिकका मुख्य अभियन्प्रता ब्रिगेडियर अमित साखरेले पुलको संरचनागत विशेषता र रणनीतिक महत्वबारे प्राविधिक प्रस्तुति दिए।

आफ्नो सम्बोधनमा रक्षा राज्यमन्त्री सेठले कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद छोटो अवधिमै पुल निर्माण सम्पन्न गरेकोमा बीआरओ र ग्रेफका कर्मचारीहरूको प्रशंसा गरे। उनले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ तथा राज्य सरकारलाई निरन्तर सहयोग र समन्वयका लागि आभार व्यक्त गरे।

उनले यो पुलले लाचेन र छेउछाउका बासिन्दाहरूको जनजीवन सामान्य बनाउन सहयोग पुर्‍याउनुका साथै संवेदनशील सीमावर्ती क्षेत्रमा रणनीतिक आवागमन सुदृढ़ बनाउने बताए। साथै, परियोजना कार्यान्वयनमा पूर्ण सहयोग गरेकोमा जिल्ला प्रशासनको पनि उनले प्रशंसा गरे। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्र सरकार राज्यको विकास आकांक्षा पूरा गर्न प्रतिबद्ध रहेको आश्वासन पनि दिए।

क्षेत्र विधायक तथा मन्त्री लेप्चाले उत्तर सिक्किम भ्रमण गरी बहुप्रतीक्षित पुल उद्घाटन गरेकोमा राज्यमन्त्रीप्रति आभार व्यक्त गरे। उनले अक्टोबर २०२३ को ग्लेसियल लेक आउटबर्स्ट फ्लड (जीएलओएफ) र त्यसपछिका प्राकृतिक आपदाका कारण जनजीवन र सम्पर्क प्रणालीमा ठूलो असर परेको जानकारी गराए।

उनले राज्य सरकार तथा मुख्यमन्त्रीको तर्फबाट ग्रेफ र बीआरओका कर्मचारीहरूले अत्यन्त कठिन परिस्थितिमा निरन्तर र समर्पित सेवा पुर्‍याएकोमा हार्दिक प्रशंसा व्यक्त गरे। यसैगरी, उनले पुल पुनःस्थापना अवधिभर स्थानीय जनताको धैर्य र सहयोगप्रति पनि कृतज्ञता प्रकट गरे।

मन्त्रीले चुङथाङमाथि प्रस्तावित सड़क एलाइनमेन्ट परियोजनालाई अन्तिम रूप दिँदा जनभावनालाई उचित महत्व दिन आग्रह गरे। दिगो तथा संवेदनशील पूर्वाधार विकासका लागि सरकार, कार्यान्वयन निकायहरू र सर्वसाधारणबीच निरन्तर समन्वय कायम रहने पनि उनले आश्वासन दिए।

स्मरण रहोस्, भारी वर्षा, आकस्मिक बाढी, जुन २०२४ को चक्रवात रेमल तथा मई-जून, २०२५ को विनाशकारी क्लाउडब्रटका कारण उत्तर सिक्किमको पूर्वाधारमा व्यापक क्षति पुगेको थियो। तरम चु माथिको पुरानो पुलसहित धेरै महत्वपूर्ण पुलहरू बगाउँदा लाचेनतर्फको सम्पर्क गम्भीर रूपमा प्रभावित भएको थियो, जसले पर्यटन, अत्यावश्यक आपूर्ति र रणनीतिक आवागमनमा अवरोध सिर्जना गरेको थियो।

तरम चु माथि नवनिर्मित ४०० फुट लामो बेली सस्पेन्सन स्टिल ब्रिज तथा २८ किलोमिटर लामो चुङथाङ-लाचेन सडकखण्डको पुनःस्थापना आपदापछिको पुनर्निर्माण प्रयासमा महत्वपूर्ण कोसेढुङ्गा सावित भएको छ। उच्च हिमाली अवस्था, भूकम्पीय संवेदनशीलता र तीव्र जलप्रवाह सहन सक्ने गरी डिजाइन गरिएको यो पुल दिगो र सुदृढ़ संरचनाका रूपमा निर्माण गरिएको बताइएको छ।

यस पुनःस्थापनाले चुङथाङ र लाचेनबीचको जीवनरेखा पुनःस्थापित गर्दै सर्वसाधारण र पर्यटकहरूको सहज आवागमन, अत्यावश्यक वस्तुको नियमित आपूर्ति, आपदा प्रतिकार क्षमता अभिवृद्धि तथा राष्ट्रिय सुरक्षासम्बन्धी ढुवानी व्यवस्थालाई सुदृढ़ बनाएको छ।

पुल उद्घाटन कार्यक्रमपछि रक्षा राज्यमन्त्री जिल्ला प्रशासनसँग निर्धारित समीक्षा बैठकका लागि चुङथाङतर्फ प्रस्थान गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande