खोज्दा पाउनेलाई भोट दिनपर्छ, नत्र तीनधारेले दु:ख पाउँछ: अनित थापा
अनित थापा


खरसाङ, 26 फरवरी (हि.स.)। जीटीए प्रमुख अनित थापाले तीनधारेमा नयाँ स्कूल भवन र तीनधारेको गोलाई पाखामा सार्वजनिक भवन निर्माणको लागि शिलान्यास गरिएकोमा तीनधारेबासीलाई बधाई दिएका छन्। उनले तीनधारेमा अझैं विकासका कार्यहरु गर्न बाँकी रहेको बताएका छन्।

उनले स्कूल भवनका लागि विद्यालयका शिक्षिकाहरुले धेरै पहल गरेका थिए भने आज शिक्षकहरूको माग पूरा भएको बताए। अर्कातिर, उनले विद्यालयमा विद्यार्थीहरुको संख्या घट्दै गएकोमा दु:ख व्यक्त गरे। उनले भने, तीनधारेमा जनसङ्ख्या कम हुँदै गएको छ। तीनधारेमा घरहरु खाली हुँदैछ र हाम्रो जाति पनि घट्दै जाँदैछ।

अनित थापाले भने, 2017 देखि पहाडमा शिक्षामा उन्नति भइरहेको छ। शान्तिपूर्ण माहोल सिर्जना भएको छ। तीनधारे क्षेत्र पनि डब्ल्युबीसीएस परीक्षा ए ग्रेडमा उत्तीर्ण गरेर उदाहरण बनेको छ। म सरकारसित मिलेर काम गरिरहेको छु। मेरो कसैसित झगडा छैन। म सरकार चलाउने व्यक्ति हुॅं। हामी बंगालमा बस्छौँ र बंगालकै मान्छेलाई जिताउनु आवश्यक हुन्छ।

उनले भने, हामीमा राजनीतिक सचेतना हुन आवश्यक छ। तीनधारेले जसलाई जिताएर पठायो, उसले फर्केर आएर धन्यवाद भन्नु पनि दिएन। तर खोज्दा पाउनेलाई नै भोट दिएको राम्रो हो। नत्र तीनधारेले दु:ख पाउँछ।' थापाले अझ भने, मेरो आफ्नो समयमा तीनधारेमा दुईवटा स्कूल भवन बनिने भएको छ। एउटा भवन बनिएको छ, तर स्कूल सरेको छैन। अब उक्त भवनमा माथिल्लो स्कूल त्यहाँ सार्नेछु।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande