9 फरवरीदेखि यता 57 भूकम्प रेकर्ड, 41 भूकम्पका केन्द्र सिक्किम
राहत आयुक्त र भू राजस्व एवं आपदा प्रबन्धन विभागका निर्देशक


- हिमाली क्षेत्रमा भूकम्पीय गतिविधि सामान्य: राहत आयुक्तगान्तोक, 27 फरवरी (हि.स.)। सिक्किम लगायत नेपाल, भुटान र तिब्बत क्षेत्रमा गत 9 फरवरी, 2026 देखि यता कुल 57 पटक भूकप रेकर्ड गरिएका छन्। यस मध्ये 41 भूकम्पका केन्द्र सिक्किममा रहेका थिए। यस अवधि सबैभन्दा शक्तिशाली भूकम्प बिहिवार गेजिङमा 4.6 रेकर्ड गरिएको छ। उक्त जानकारी आज राज्य राहत आयुक्त रिन्जिङ छेवाङ भोटियाले दिए।

सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण (एसएसडीएमए) ले आज आफ्नो सम्मेलन हलमा हालैका भूकम्पीय गतिविधिहरूलाई लिएर एक पत्रकार सम्मेलन आयोजन गऱ्यो। यस क्रममा राहत आयुक्त भोटिया र भू राजस्व एवं आपदा प्रबन्धन विभागका निर्देशक प्रभाकर राईले गत 9 फरवरीदेखि अहिलेसम्म सिक्किम लगायत अन्य ठाउॅंहरूमा भूकम्पका घटनाहरूको बारेमा जानकारी गराए।

राहत आयुक्त भोटियाले गत 9 फरवरीदेखि अहिलेसम्म सिक्किम लगायत छिमेकी राष्ट्रहरू नेपाल, भुटान र तिब्बतमा कुल 57 पटक भुम्कप रेकर्ड गरिएको जानकारी गराए। उनले 57 मध्ये 41 भूकम्पका केन्द्र सिक्किम थिए भन्दै हिमाली क्षेत्रमा भूकम्पीय गतिविधि सामान्य रहेको अवगत गराए। उनले गत 18 दिनमा सर्वाधिक शक्तिशाली भूकम्प हिजो गेजिङ जिल्लामा 4.6 तीव्रता रेकर्ड गरिएको पनि बताए। उनले यस अवधि राज्यभरि सामान्य भूकम्पहरू महसुस गरिएका छन् भन्दै यस्ता घटनाहरू सामान्यतया ठूलो चिन्ताको विषय नरहेको स्पष्ट पारे।

राहत आयुक्तले भूकम्पको समयमा पालन गर्नु पर्ने सुरक्षा उपायहरूमाथि प्रकाश पार्दै घर भित्र रहेका मानिसहरू घरभित्रै बस्नुपर्ने र भूकम्पका झट्का बन्द नभएसम्म बलियो फर्निचर मुनि आश्रय लिएर आफ्नो टाउको सुरक्षित राख्नुपर्छ भनी बताए। उनले भूकम्पका झट्का बन्द नभएसम्म समात्न सल्लाह दिए। उनले भूकम्प रोकिएपछि मानिसहरू भवन, रूख र बिजुलीका खम्बाहरूबाट टाडा खुला ठाउँहरूमा जान सक्ने बताए। उनले सम्भव भएसम्म ग्यास र बिजुली जडानहरू बन्द गर्न पनि सल्लाह दिए र अप्रमाणित अफवाहहरू फैलाउनबाट सावधान रहन सुझाउ दिए।

संस्थागत तयारीको बारेमा जानकारी दिँदै उनले 9 फरवरीदेखि शिक्षा विभागसँगको समन्वयमा विद्यालयहरूमा भूकम्प सुरक्षाको बारेमा जागरूकता कार्यक्रमहरू आयोजना गरिएको जानकारी दिए। यसैगरी, नियमित रूपमा मक-ड्रिल अभ्यासहरू सञ्चालन भइरहेको, शिक्षक नोडल अधिकारीको नेतृत्वमा विद्यालयहरूमा आपदा प्रबन्धन क्लबहरू गठन गरिएको र विद्यालय सुरक्षा पुस्तिकाहरू वितरण गरिएको पनि उनले बताए।

यस अतिरिक्त, राहत आयुक्तले ग्रामीण क्षेत्रहरूमा पनि एसएसडीएमए र जिल्ला आपदा प्रबन्धन प्राधिकरणहरूले जागरूकता कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए। ग्राम आपदा प्रबन्धन योजना र समितिहरू स्थापना गरिएको र मानिसहरूलाई आवश्यक परेमा निष्क्रिय योजनाहरूलाई पुनर्जीवित वा सुदृढ़ गर्न पञ्चायतहरूसँग समन्वय गर्न आग्रह गरिएको उनले बताए। उनले नागरिकहरूलाई भूकम्प र अन्य प्रकोपहरूको वास्तविक-समय अपडेडहरूको लागि भारत सरकारको पहल सचेट मोबाइल एप डाउनलोड गर्न प्रोत्साहित गरे।

मौसमी जोखिमबारे बोल्दै उनले जङ्गलमा आगलागीको बढ्दो खतरालाई सम्बोधित गर्न सार्वजनिक सतर्कता अपनाउन आग्रह गरे। उनले आगलागीका घटनाहरू तुरुन्तै वन विभाग वा पुलिसलाई रिपोर्ट गर्न सल्लाह दिए। उनले सबै जिल्लाहरूमा जिल्ला सञ्चालन केन्द्रहरू चौबीसै घण्टा कार्यरत रहेको जानकारी गराए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande