
अलिपुरद्वार, 28 फरवरी (हि.स)। जिल्लाको हासीमारा एशियन हाइवेमा शनिवार बिहान भएको एक पीड़ादायी सड़क दुर्घटनामा परी चारजना चिया श्रमिक महिलाहरूको घटनास्थलमै मृत्यु भयो भने अन्य तीनजना गम्भीर रूपमा घाइते भए।
जानकारी मुताविक भर्नाबाड़ी चिया बगानका महिला श्रमिकहरू सदा जस्तै शनिवार बिहान पनि अर्को बगानमा काम गर्न गइरहेका थिए। यसै क्रममा डुवर्स ढाबा नजिक पुगेपछि एउटा द्रूत गतिको कारले सड़क किनारमा पैदल हिँड़िरहेका महिलाहरूलाई भयानक ठक्कर दियो। यस भयंकर ठक्करले चारजना महिलाहरूको घटनास्थलमै मृत्यु भयो।
घटनापछि क्षेत्रमा तनाउ फैलियो। आक्रोशित श्रमिकहरूले एशियन हाइवेलाई जाम गरेर विरोध प्रदर्शन गरे। स्थानीय मानिसहरूले आरोप लगाए, कार चालक मातेको थियो तथापि यसको आधिकारिक पुष्टि अहिलेसम्म भएको छैन।
सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। घाइतेहरूलाई तत्काल अस्पतालमा भर्ती गरियो जहाँ उनीहरूको उपचार भइरहेको छ। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा