
दार्जिलिङ, 28 फरवरी (हि.स.)। दार्जिलिङका पत्रकारहरुका संस्था दार्जिलिङ प्रेस गिल्डको 25औं स्थापना दिवस साहित्य सम्मेलन भवन दार्जिलिङमा मनाइयो। स्थापना दिवस समारोह पत्रकार दिप गजमेरको अध्यक्षता र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चेयरम्यान अञ्जुल चौहानको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, सभासद जितेन राई, जीवन बान्तावा, भरतप्रकाश राई लगायत विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु उपस्थित रहेका थिए। कार्यक्रममा वरिष्ठ पत्रकार एवं प्रेस गिल्डका कोषाध्यक्ष मोहन लामाले दार्जिलिङ प्रेस गिल्डको इतिहास लगायत पत्रकारिताका अनुभवहरु साझा गरेका थिए।
कार्यक्रममा फ्रेण्डस् अफ् प्रेस नाममा दुई जनालाई सम्मान गरिएको छ। दार्जिलिङको सिंहमारी निवासी जेसिन जोशी र पत्रकार कुन्दन (पासाङ) यल्मोलाई यसपालीको फ्रेण्डस् अफ् प्रेस सम्मानले सम्मानित गरियो। सम्मानित व्यक्तिहरूलाई प्रेस गिल्डका सभापति, सचिव र अतिथिहरूका बाहुलीबाट सम्मान स्वरूप टोपी, शल, स्मृति चिन्ह र सम्मान पत्र अर्पण गरियो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चेयरम्यान अञ्जुल चौहानले आफ्नो सम्बोधनमा पत्रकारिता चुनौतीपूर्ण पेशा रहेको बताउॅंदै सबैले गर्न नसक्ने विचार व्यक्त गरे। उनले भने, पत्रकारहरुले राजनीतिक, सामाजिक, शैक्षिक, जाति र माटोको परिप्रेक्ष्यमा होस् सबैमा बाटो देखाउने काम गर्दछन्। अरुलाई मार्गदर्शन गर्नु सानो कुरा होइन। पत्रकारहरुले आफ्नो निर्वाह गर्दै सत्य कुरा जनसाधारण समक्ष राख्नुपर्छ।'
चौहानले अघि भने, भूल भएको बेला लाखेस गर्ने क्षमता, आँट र साहस पत्रकारहरुमा हुनुपर्छ। जातिको पथ प्रदर्शक भएर पत्रकारहरु अघि बढेको होस् ।हामी सत्तामा भए पनि पत्रकारहरुको काम र विचारको स्वतन्त्रतालाई सुरक्षा गर्ने र हस्तक्षेप नगर्ने वाचा गर्दछु। चोखो र निष्पक्ष पत्रकारिता लागि सदैव कामना राख्दछु।'
जीटीए चेयम्यान अञ्जुल चौहानले पाद्री गङ्गाप्रसाद प्रधानलाई सम्मान गर्दै परिवारलाई सम्मान जनाएकोमा दार्जिलिङ प्रेस गिल्डलाई धन्यवाद दिए। उनले पाद्री गङ्गाप्रसाद प्रधानलाई आदि पत्रकारको रुपमा आधिकारिक रूपमा घोषणा गर्न दार्जिलिङ प्रेस गिल्डले भूमिका निर्वाह गर्नुपर्छ भनी बताए।
कार्यक्रममा त्रिवेणी संगीतालयका नानीहरुले नृत्यहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन साथै अध्यक्षीय सम्बोधन प्रेस गिल्डका सभापति दिप गजमेरले राखेका थिए।
हिन्दुस्थान समाचार / हनोक