
जलपाईगुड़ी, 28 फरवरी (हि.स)। आलु राख्ने बण्ड (स्टोरेज स्लिप)- को वितरणलाई लिएर शनिवार सबेरै जलपाईगुड़ीमा ठूलो बबाल भयो। जलपाईगुड़ी सदर ब्लकस्थित बाहादुर कोल्ड स्टोरेज बाहिर गए रातिदेखि नै किसानहरूको लामे ताँत लागेको थियो।
बिहान हुँदा-नहुँदै स्थिति अनियन्त्रित भयो। किसानहरूमाझ आपस्तमा ठेलम-ठेल शुरू भयो। स्थितिलाई नियन्त्रण गर्न घटनास्थलमा पुगेको पुलिससित पनि किसानहरूको भनाबैरी भएको बताइन्छ। प्रत्यक्षदर्शीहरू अनुसार पंक्ति भंग भएपछि सयभन्दा अधिक किसानहरू कोल्ड स्टोरेज परिसरभित्रै पसे।
स्थिति बिग्रिँदै गएपछि कोल्ड स्टोरेज प्रबन्धनले आलु बण्डको वितरण प्रक्रियालाई अस्थायी रूपमा रोक लगाइदियो। यसबाट रूष्ट किसानहरूले विरोध प्रदर्शन गर्दै सड़क जाम गरिदिए। घटनास्थलमा अतिरिक्त पुलिस बललाई तैनाथ गरी स्थितिलाई नियन्त्रण गर्ने चेष्टा गरियो।
किसानहरूको आरोप छ, पर्याप्त बण्ड उपलब्ध गराइरहेको छैन जसले गर्दा प्रत्येक वर्ष नै यस्तो अव्यवस्था हुन्छ। प्रशासनद्वारा मामिला सुल्झाउनको लागि बातचित गर्ने पहल गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा