चुनाउ अगावै सुरक्षा बढ़्यो, सिलगढ़ीमा आइपुगे केन्द्रिय बलहरूका तीन कम्पनी
चुनाउ अगावै सुरक्षा बढ़्यो, सिलगढ़ीमा आइपुगे केन्द्रिय बलहरूका तीन कम्पनी


सिलगढ़ी, 28 फरवरी (हि.स.)। विधानसभा चुनाउको मिति आधिकारिक रूपमा घोषणा हुन अगावै उत्तर बंगालमा सुरक्षा व्यवस्था कड़ा बनाइएको छ। अन्तिम मतदाता सूची जारी हुनसाथ सिलगढ़ी महकुमाको नक्सलबाड़ी, खोरीबाड़ी र फाँसीदेवा क्षेत्रमा केन्द्रिय सुरक्षा बलहरूका तीन कम्पनी आइपुगेका छन्।

प्रशासनिक सूत्र अनुसार मालबजारबाट सशस्त्र सीमा बल (एसएसबी)- को एक कम्पनी खोरीबाड़ी आइपुग्यो भने दोस्रो कम्पनी फाँसीदेवामा तैनाथ भएको छ। खोरीबाड़ीको जेआर हिन्दी हाई स्कूल एवं फाँसीदेवा किसान बजारमा जवानहरूको निम्ति बस्ने व्यवस्था गरिएको छ। यसरी नै सिक्किमबाट 97 जवानहरूको एक कम्पनी नक्सलबाड़ी आइपुगेको छ। यी जवानहरूको बस्ने व्यवस्था नक्सलबाड़ी कलेजमा गरिएको छ।

पुलिस अधिकारीहरूले बताए, आइतवारदेखि केन्द्रिय बलहरूले फाँसीदेवा र माटीगाड़ा-नक्सलबाड़ी विधानसभा क्षेत्रका संवेदनशील बूथ अनि सीमावर्ती क्षेत्रहरूमा रूट मार्च गर्न शुरू गर्नेछन्। प्रशासनको भनाइ छ, शान्तिपूर्ण तथा निष्पक्ष चुनाउ सुनिश्चित गर्नको लागि सतर्क कदम उठाइएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande