
गान्तोक,28 फरवरी (हि.स.)। चिया कविता, सिक्किमको आयोजनामा कवि दावा योञ्जनको नयाँ कविता किताब “जङ्गली फूल” को जङ्गलबीचमा “इको पोएट्री 2026” को साथमा सम्पन्न भयो। गान्तोक नजिक रहेको चर्चित फामबोङल्हो वाइल्डलाइफ सेञ्चुरीमा आयोजित कविता सार्वजनिक कार्यक्रममा सिक्किम अकादेमीका अध्यक्ष तथा साहित्यकार प्रवीण राई जुमेली, सेरेथाङ थाना प्रभारी योगेन्द्र गुरुङ, साहित्यकार डा. सत्यद्वीप छेत्री, डा. गगन रूचाल, एएसआई निम दोर्जी भोटिया, साहित्यकार टीबी चन्द्र सुब्बा, नेपाली साहित्य परिषदकी प्रशासनिक सचिव कवि लुइस विष्ट तथा कवि सबिना राईको बाहुलीबाट किताब सार्वजनिक गरियो।
मेन्युस्क्रिप्ट पब्लिकेसन्सले बजारमा ल्याएको “जङ्गली फूल” कवि दावा योञ्जनको दोस्रो कविता किताब हो। एसएचओ गुरूङले किताब सार्वजनिक भएको घोषणा गरे। कार्यक्रममा “जङ्गली फूल” किताबबारे आफ्नो दृष्टिकोण राख्दै साहित्यकार जुमेलीले इको राइटिङलाई आधार बनाएर लेखिएको कविताले केवल पर्यावरण चेतलाईमात्र नछोएर 108 वटा कविताले अध्यात्मलाई पनि समावेश गर्दै छुट्टै धार प्रदान गरेको बताए।
उनले कविलाई समालोचनाको बलियो आधार हुनसक्ने भएको कारण आलोचना र प्रत्यालोचनामाथि पनि तयार बस्नुपर्ने बताए। उनले प्रसंशाले केवल भ्रम सिर्जना गर्ने तथा आफू बाँचेको समयसमेत याद नपाउने भएको कारण आलोचनाको निम्ति तत्पर रहनुपर्ने जसले सिर्जनाको नयाँ फाँट खोलिने बताए। यसैगरि उनले सर्जकको चुनौती अरूसित नभएर आफ्नै सिर्जनासित हुने भएको कारण “जङ्गली फूल” भन्दा फरक र उत्तम सिर्जनाको निम्ति साधना गर्नुपर्ने सुझाउ पनि राखे।
आफ्नो कुरा राख्दै कवि योञ्जनले “जङ्गली फूल” लेख्नुको गर्भकथाको संक्षिप्त जानकारी दिँदै यसमा रहेको भुल र आलोच्य विषयहरूलाई कुनै पक्षपात बिनै हेरिदिने तथा आजदेखि पाठकको हातमा सुम्पिएको बताए। उनले आलोचनाको अपेक्षा धेरै रहेको बताए।
चिया कविता, सिक्किमले आयोजन गर्ने वार्षिक “इको पोएट्री 2026” कार्यक्रमको विशेष आकर्षण रहेको थियो। जसमा कवि टीबी चन्द्र, सुब्बा, सूचन प्रधान, प्रवीण खालिङ, अम्बर लाछिकाठी, एनबी घिमिरे, राजीव तामाङ, आनन्द छेत्री, प्रणील थिङ, दावा योञ्जन, सबिना राई, पुजा छेत्री, रञ्जना कार्की, रेखा शर्मा, विश्वजीत वास्कोटाले सहभागिता दिएका थिए।
कार्यक्रममा बाँसुरी वादक सन कुमार राईले बाँसुरीको सुरिलो धुन प्रस्तुत गरेका थिए। चिया कविता सिक्किमका संयोजक प्रवीण खालिङले कार्यक्रम सञ्चालन गर्दै फरक ढङ्गमा साहित्यलाई समाजमा जोड्ने पहलमा लागेको चिया कविताले पुस्तक लोकार्पण र पर्यावरणको बीचमा कविता पुऱ्याउने पहल गरेको बताए। काक्रममा वरिष्ठ कवि, कलाकार, चित्रकार, सिक्किम पुलिसका जवानहरू लगायत समाजका सचेत तहका मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल