
गान्तोक, 01 मार्च (हि.स.)। गेजिङ जिल्लाको तिक्जेक भीरमा भएको एक वाहन दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु भएको छ। दुर्घटना 28 मार्च अबेर राति भएको बताइएको छ।
पुलिस सुत्रहरूका अनुसार, एउटा टिप्पर ट्रक देन्तामबाट गेजिङतर्फ आइरहेको थियो। यस क्रममा तिक्जेक भीरमा चालकले वाहनमाथि नियन्त्रण गुमाइपठाउॅंदा ट्रक सडकदेखि 300 फुट तल झऱ्यो। ट्रकमा चालकसहित तीन जना थिए। घटनामा तीनै जना गम्भीर रूपमा घाइते भए। उनीहरूलाई गेजिङ जिल्ला अस्पताल पुऱ्याइयो, तर उपचारको क्रममा तीनै जनाको मृत्यु भयो।
मृतकहरूको पहिचान प्रदीप छेत्री (40), नगेन्द्र गुरुङ (18) र फुर तेम्पा भोटिया (20) को रूपमा भएको छ। ट्रक प्रदीप छेत्रीले चलाइरहेका थिए।
हिन्दुस्थान समाचार / बिशाल