
गान्तोक, 01 मार्च (हि.स.)। राज्य श्रम विभाग सचिव भीम ठटालको नेतृत्वमा श्रम विभागको टोलीले 27 र 28 फरवरीका दिन नयाँ दिल्लीस्थित ईपीएफओ मुख्य कार्यालयमा श्रम संहिता र अन्य पक्षहरू सम्बन्धी राज्य र केन्द्र शासित प्रदेशहरूसँगको पाँचौं क्षेत्रीय सम्मेलनमा भाग लियो।
सम्मेलनको आयोजना भारत सरकारको श्रम तथा रोजगार मन्त्रालयले गरेको थियो। सम्मेलनको पहिलो दिनको अध्यक्षता केन्द्रिय श्रम तथा रोजगार मन्त्री डा. मनसुख मण्डावीया तथा दोस्रो दिनको सम्मेलनको अध्यक्षता श्रम तथा रोजगार मन्त्रालयकी सचिव वन्दना गुरनानीले गरेका थिए। सम्मेलनमा पहिले लागू गरिएका सबै २९ श्रम कानून र राज्य नियमहरूसहित नयाँ लागू गरिएका चार श्रम संहिताहरूको बारेमा विस्तृत रूपमा छलफल गरिएको थियो।
सम्मेलनमा सचिव ठटालले सिक्किम राज्यमा संविधानको धारा ३७१एफ अन्तर्गत केही विशेष प्रावधानहरू रहेकाले राज्यले यी चार श्रम संहिताको प्रयोज्यता र कार्यान्वयनको जाँच गरिरहेको बताए। उनले धारा ३७१एफ अन्तर्गतका विशेष प्रावधानहरू र सिक्किमको पुरानो कानूनहरू अनुरूप यी संहिताको अध्ययन गर्न एक उच्चस्तरीय समिति पनि गठन गरिएको जानकारी गराए।
सचिव ठटालले कर्मचारी राज्य बीमा निगम अन्तर्गत एक सय बेडको अस्पतालको निर्माण शुरु गर्न भइरहेको ढिलाइको मुद्दा पनि उठाए। यसका लागि नाम्ची जिल्लाको ममरिङमा जग्गा पहिचान गरिएको र पहिले नै निगमलाई हस्तान्तरण गरिएको उनले जानकारी गराए। उनले सिक्किममा ईएसआईसीको उपक्षेत्रीय कार्यालय स्थापनाको लागि पनि जोड दिए।
राज्य श्रम विभागले विज्ञप्तिमा भनेको छ, श्रम तथा रोजगार मन्त्रालयले सिक्किमका प्रतिनिधिहरूलाई श्रम शक्ति भवनमा आमन्त्रित गरेको थियो। यस क्रममा सिक्किमसँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गर्न तथा संशोधन वा अन्य कुनै कानुनी प्रक्रियाको प्रयोज्यता सम्बन्धी केन्द्रिय सरकारका अधिकारीहरूसँग व्यापक रूपमा छलफल गरियो।
हिन्दुस्थान समाचार / बिशाल