सोनादामा अण्डर 15 विन्टर फुटबल कोचिङ क्याम्पको समापन
सोनादामा अण्डर 15 विन्टर फुटबल कोचिङ क्याम्पको समापन


सोनादा, 01 मार्च (हि.स.)। सोनादा उच्चत्तर माध्यमिक विद्यालयको आयोजनामा आज अण्डर 15 विन्टर फुटबल कोचिङ क्याम्पको समापन कार्यक्रम सम्पन्न भएको छ। उक्त अण्डर 15 विन्टर फुटबल कोचिङ गत 15 दिसम्बर, 2025 देखि शुरु भएको थियो। क्याक्प अवधि बुद्ध राई र दोर्जी तामाङले युवाहरूलाई प्रशिक्षण प्रदान गरेका थिए।

समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सोनादा उच्चत्तर माध्यमिक विद्यालयका पूर्व प्रधान अध्यापक कल्याणकुमार तामाङ उपस्थित थिए। यसैगरी, विशिष्ट अतिथिहरुमा वर्तमान प्रधान अध्यापिका विन्ध्या प्रधान, समाजसेवी सुमेस तामाङ, आइतासिंह तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रममा अतिथिहरूका बाहुलीद्वारा क्याम्पका हभागी विद्यार्थीहरूलाई प्रमाण पत्र, फुटबल, जर्सी, बुट, ट्रफी प्रदान गरियो।

गत केही दिन अगाडि बालासनमा आयोजना गरिएको अण्डर 15 फुटबल टुर्नामेन्टमा विद्यालयका विद्यार्थीहरुले फाइनलमा जित हासिल गरेकोमा सबैलाई उपहार प्रदान गरियो। प्रशिक्षक बुद्ध राईले आफ्नो सम्बोधनमा भने, विद्यालयको अर्थ र उद्देश्य विद्यार्थीलाई शिक्षित बनाउनु मात्र होइन, अपितु विद्यार्थीहरूलाई सक्षम, योग्य र आत्मविश्वासी पनि बनाउनु हो। शिक्षा ग्रहण गर्ने विद्यार्थी शिक्षासँगै समाज, जाति र देशको हितमा असल कार्य गर्न र आफू अनुशासित बनेर समाजलाई अनुशासनमा डोऱ्याउनु हो।

उनले भने, आजका बालबालिका र युवाहरू मोबाइल एवम् सामाजिक सञ्जालको लतमा डूब्न पुगेका छन्। उनीहरूलाई यी सबै कुराहरूबाट टाढा राखेर शारीरिक अनि मानसिकरूपमा स्वास्थ्य राख्नु पनि यस क्याम्पको आयोजना गरिएको हो। उनले युवाहरूमा सचेतना फैलाउन र उनीहरूलाई सही दिशानिर्देश गर्न पनि विद्यालयले यस अण्डर 15 विन्टर फुटबल कोचिङको आयोजना गरेको बताए।

कार्यक्रमलाई कल्याणकुमार तामाङ, बिन्ध्या प्रधान, सुमेस तामाङ आदिले सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande