किरात राई संघ सिक्किमको पाबिक-नैताम ब्लक कमिटी गठन
किरात राई संघ सिक्किमको पाबिक-नैताम ब्लक कमिटी गठन


गान्तोक, 02 मार्च (हि.स.)। किरात राई संघ, सिक्किमको पाबिक-नैताम ब्लक स्तरीय सभा आज पूर्व सिक्किमको पाबिकमा सम्पन्न भयो। केन्द्रिय उपाध्यक्ष जेपी राईको अध्यक्षतामा सम्पन्न उक्त सभामा केन्द्रिय तथा जिल्ला समितिका पदाधिकारीहरू र स्थानीय सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभामा उपस्थित वक्ताहरूले संगठनको उद्देश्य, महत्व तथा आगामी कार्ययोजनाबारे धारणा व्यक्त गर्दै संगठनलाई अझ सुदृढ़ र प्रभावकारी बनाउने आवश्यकता औंल्याए। सभामा लामो छलफल पश्चात पाबिक-नैताम ब्लक कमिटी गठन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरियो।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष पूर्ण प्रसाद राई, उपाध्यक्ष अर्जुन राई, सचिव रोहित राई, उपसचिव दिव्या राई तथा कोषाध्यक्ष अम्बर राई चयन भएका छन्। त्यसैगरी कार्यकारिणी सदस्यहरूमा लिलावत राई, सुमन राई, दीप कुमार राई र मिलन राई चयन भएका छन्। यसैगरी, संगठनलाई मार्गदर्शन प्रदान गर्न सल्लाहकारका रूपमा राजा राई, हरि कमल राई, योगेश राई र अर्जुन राईलाई मनोनयन गरिएको छ।

सभाको अन्त्यमा रोहित राईले धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित टोलीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे। सभामा उपस्थित सदस्यहरूले संगठन विस्तार तथा किरात समुदायको हितमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande