

गान्तोक, 02 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज सिक्किम पुलिसद्वारा आयोजित डीजीपी/आईजीपी सम्मेलन एवं नीतिगत छलफल बैठकमा सहभागी बन्दै सिक्किम पुलिसका वरिष्ठ नेतृत्वहरू र अधिकारीहरूसँग अन्तरक्रिया गरे। उक्त कार्यक्रम राजधानीको चिन्तन भवनमा आयोजना गरिएको थियो।
मुख्यमन्त्रीले कार्यक्रमलाई सम्बोधन गर्दै केवल बल प्रयोग गर्नुको सट्टा जनताको विश्वास, करुणा र निष्ठा पुलिस बलको वास्तविक शक्ति रहेको बताए। उनले सिक्किमको एकता, पारस्परिक सम्मान र सामाजिक सद्भावको लामो समयदेखिको परम्परालाई प्रकाश पार्दै राज्यमा पुलिस सेवाले यी मूल्यमान्यताहरूलाई प्रतिबिम्बित गरिरहनुपर्ने कुरामा जोड दिए।
मुख्यमन्त्रीले नागरिकहरूप्रति मानवीय, विनम्र र सहानुभूतिपूर्ण दृष्टिकोण कायम राख्दै अपराधीहरू विरुद्ध दृढ़ रहन र सम्झौता नगर्न पुलिसलाई आह्वान गरे। पुलिसको युनिफर्मलाई पहिचान, गौरव, अनुशासन र कर्तव्यको प्रतीक बताउॅंदै उनले सिक्किम पुलिसले राज्यभित्र र बाहिर मान्यता प्राप्त गरेकोमा प्रशंसा गरे।
उनले समावेशी र मानवीय मूल्यमान्यतामा सरकारको विश्वास दोहोर्याउँदै शान्ति र सामाजिक सद्भाव खलल पार्ने तत्वहरूलाई कानून अनुसार कडाइका साथ व्यवहार गरिने स्पष्ट सन्देश दिए। उनले पुलिस र प्रसिक्यूशनको पूरक भूमिकामाथि प्रकाश पार्दै उनीहरूलाई न्याय वितरण प्रणालीका दुई अविभाज्य स्तम्भको रूपमा वर्णन गरे।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा पुलिस बललाई सिक्किम सरकारको पूर्ण समर्थन व्यक्त गर्दै जनताको सुरक्षा र कल्याणको लागि पुलिस संस्थाहरूलाई सुदृढ़ पार्ने प्रतिबद्धता दोहोऱ्याए।
हिन्दुस्थान समाचार / बिशाल