
गुवाहाटी, ३१ मार्च (हि.स.)। असम प्रदेश भारतीय जनता पार्टी (भाजपा) ले मङ्गलबार बिहान पार्टी मुख्यालय अटल बिहारी वाजपेयी भवनमा विधानसभा चुनाउका लागि ‘सङ्कल्प पत्र’ जारी गरेको छ।
यो सङ्कल्प पत्रको औपचारिक विमोचन केन्द्रिय अर्थमन्त्री निर्मला सीतारामणले गरिन्। कार्यक्रममा केन्द्रिय मन्त्री सर्वानन्द सोनोवाल, मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा, प्रदेश भाजपा अध्यक्ष तथा सांसद दिलीप सैकिया, केन्द्रिय मन्त्री पवित्र मार्गेरिटा, असम भाजपाका प्रभारी बैजयन्त पाण्डा, असम सरकारका मन्त्री रञ्जित कुमार दास, सांसद प्रदान बरुवा आदि उपस्थित थिए।
सीतारामणले असममा भाजपा नेतृत्वको राजग सरकारले विगत दस वर्षमा उठाएका कदमहरूको जानकारी दिँदै रोजगार, शिक्षा, स्वास्थ्य, उद्योग, सुरक्षा, आधारभूत पूर्वाधार, शान्ति, महिला विकास आदिमा प्रकाश पार्दै कांग्रेस सरकारले राज्यको उपेक्षा गरेको मुद्दा पनि उठाइन्। उनले आगामी पाँच वर्षमा राज्यको सामूहिक विकासका लागि भाजपाले उठाउने सङ्कल्पहरूमा पनि प्रकाश पारिन्।
कार्यक्रमको शुरुमा अध्यक्ष दिलीप सैकियाले स्वागत भाषण दिए। यस अवसरमा सङ्कल्प पत्र तयार पार्न उठाएका कदमहरूको विस्तृत जानकारी प्रदेश भाजपा अध्यक्ष दिलीप सैकियाले दिए। केन्द्रिय मन्त्री सर्वानन्द सोनोवालले पनि यस अवसरमा आफ्ना विचार व्यक्त गरे।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी