
शिलाङ, 06 मार्च (हि.स.)। मेघालयको समृद्ध जैविक विविधतामा अझ् एक महत्वपूर्ण उपलब्धी जोड़िएको छ। अनुसन्धानकर्ताहरूले राज्यमा पहिलो पटक यांग्स फ्रिल-लिम्बेड ट्री फ्रग (कुरिक्सालस याङ्गी) प्रजातिको उपस्थिति दर्ता गरेका छन्, जसले यस क्षेत्रको अझै पनि अन्वेषण नगरिएको उभयचर विविधतालाई उजागर गर्दछ।
दक्षिण पश्चिम खासी हिल्स जिल्लाको मावपत गाउँमा गरिएको उभयचर सर्वेक्षणको क्रममा यो दुर्लभ रूखमा बस्ने भ्यागुता पत्ता लागेको हो। यो सर्वेक्षण असम डन बोस्को विश्वविद्यालयका होलीनेस वारजरी र मधुरिमा दासले प्रसिद्ध वन्यजीव शोधकर्ता जय जयदित्य पुरकायस्थाको साथ मिलेर गरे, जो हेल्प अर्थसित जोड़िएका छन्। यो सानो भ्यागुतालाई 10 अक्टोबर 2024 मा समुद्र सतहबाट लगभग 1,355 मिटरको उचाइमा रेकर्ड गरिएको थियो।
अनुसन्धानकर्ताहरूले माइटोकोन्ड्रियल 16एस आरआरएनए जीनको विस्तृत रूपात्मक अध्ययन र आनुवंशिक विश्लेषण मार्फत प्रजातिको पुष्टि गरे। आधिकारिक सूत्रहरूले बताए, यसको नमूनालाई थप वैज्ञानिक अध्ययनको लागि असम डोन बोस्को विश्वविद्यालयको प्राणी संग्रहालयमा संरक्षित गरिएको छ।
यो प्रजाति मूल रूपमा चीनको युनान क्षेत्रबाट वर्णन गरिएको थियो र यस अघि यो म्यान्मार तथा उत्तर-पूर्वी भारतको अरुणाचल प्रदेश, मिजोरम र नागाल्याण्डमा रेकर्ड गरिएको छ। अब यसको नयाँ रेकर्डले मेघालयमा यसको वितरण विस्तार भएको संकेत गर्दछ।
वैज्ञानिकहरू अनुसार, यो खोज यस्तो समयमा भएको छ, जब मेघालयमा उभयचर प्रजातिहरूले जलवायु परिवर्तन, बासस्थानको ह्रास र खानाको लागि भ्यागुताको अत्यधिक शिकार जस्ता चुनौतीहरूको सामना गरिरहेका छन्। अनुसन्धानकर्ताहरू विश्वास गर्छन् कि राज्यको संवेदनशील उभयचर बासस्थानहरूको संरक्षण गर्न र नयाँ प्रजातिहरू पत्तो लगाउन निरन्तर सर्वेक्षण र संरक्षण प्रयासहरू आवश्यक छ।
हिन्दुस्थान समाचार / भवानी थामी