
अयोध्या, 07 मार्च (हि.स.)। राम मन्दिर परिसरमा भइरहेको भवन निर्माण समितिको तीनदिने बैठकको दोस्रो दिन शनिबार पनि जारी रहेको छ। बैठकअघि समितिका अध्यक्ष नृपेन्द्र मिश्राले सञ्चारकर्मीसँग धेरै महत्वपूर्ण जानकारी दिएका छन्।
उनका अनुसार, बैठकमा मुख्य रूपमा राष्ट्रपति द्रौपदी मुर्मूको प्रस्तावित अयोध्या भ्रमण र कार्यक्रमको रूपरेखाबारे छलफल भएको छ। राष्ट्रपति मुर्मू भारतीय नवसंवत्सर अर्थात् १९ मार्चका दिन बिहान करिब ११ बजी राम मन्दिर परिसरमा पुगेर रामललाको दर्शन तथा पूजा गर्ने कार्यक्रम रहेको छ। उनी करिब चार घण्टा त्यहाँ रहनेछिन् र श्रीराम मन्दिर तीर्थ क्षेत्र न्यासद्वारा आयोजित कार्यक्रममा सहभागी हुनेछिन्।
उनले राष्ट्रपति भ्रमणका क्रममा सर्वसाधारण श्रद्धालुले रामललाको दर्शन गर्न नपाउने जानकारी पनि दिए। कार्यक्रमलाई ध्यानमा राख्दै मन्दिर परिसरको निरीक्षण, सुरक्षा व्यवस्था तथा श्रद्धालुका सुविधाका लागि विशेष योजना बनाइँदैछ।
नृपेन्द्र मिश्रा अनुसार, राम मन्दिरको अधिकांश निर्माण कार्य पूरा भइसकेको छ। अब केवल दुई प्रमुख काम हुतात्मा स्मारक र अस्थायी मन्दिर निर्माण मात्र बाँकी रहेका छन्।
उनले रामललाको सूर्य तिलक परम्परालाई कायम राख्न सेन्ट्रल बिल्डिङ रिसर्च इन्स्टिट्यूट र अप्टिका कम्पनीसँग १० वर्षको सम्झौता गरिएको पनि बताए।
राष्ट्रपतिको कार्यक्रमपछि मन्दिर परिसरको व्यवस्था पूर्ण रूपमा श्रद्धालुका लागि खुला गरिनेछ। त्यसपछि प्रतिदिन करिब ५ हजार श्रद्धालुले पासका आधारमा परकोटा सहित सबै मन्दिरहरूको दर्शन गर्न सक्नेछन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी