
कोलकाता, 07 मार्च (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शनिबार धर्मतलाको मेट्रो च्यानलमा जारी आफ्नो धरना प्रदर्शनको दोस्रो दिन केन्द्र सरकार र भारतीय जनता पार्टी (भाजपा) माथि कडा आक्रमण गरेकी छन्। उनले चेताउनी दिँदै भनिन्, यदि बंगाललाई कमजोर बनाउने प्रयास गरियो भने दिल्लीको सरकार ढालिदिनेछौँ।
मुख्यमन्त्रीले भनिन्, “भाजपा सावधान रहोस्। मत काटेर बंगाललाई विभाजित गर्न सकिँदैन। बंगाल लडिरहेको छ र लड्न जान्दछ। धेरै दबाउ दिइयो भने दिल्लीको सरकार ढालिदिन्छौँ।”
धरना स्थलबाट उनले केन्द्र सरकार र भाजपामाथि डर देखाउने र धम्की दिने राजनीति गरिरहेको आरोप पनि लगाइन्। ममताले धेरै मानिसलाई पदबाट हटाउने वा दबाउ सिर्जना गर्ने प्रयास भइरहेको, तर जनताले सबै कुरा हेरिरहेको बताइन्।
मुख्यमन्त्रीले हालै राज्यपाललाई हटाइएको विषयमा पनि प्रश्न उठाइन्। उनले चुनाउअघि राज्यपाल परिवर्तन गर्ने निर्णय बुझ्न नसकिएको बताइन्। ममताले केन्द्र सरकारको आलोचना गर्दै दिल्लीमा बसेका नेताहरू अहंकारमा रहेको र सरकार सहयोगी दलहरूको सहारामा चलिरहेको बताइन्। विशेषगरी चन्द्रबाबु नायडूको उल्लेख गर्दै उनले सरकार नायडूको “दयामा चलिरहेको” टिप्पणी गरिन्। उनले जनताका मुद्दामा आफ्नो संघर्ष जारी रहने दाबी पनि गरिन्।
धरना मञ्चबाट बोल्दै मुख्यमन्त्रीले महाराष्ट्रका नेता अजीत पवारको पनि उल्लेख गरिन् र आफूले पहिले निष्पक्ष छानबिनको माग गरेको विषय अहिले सही सावित भइरहेको बताइन्।
मुख्यमन्त्रीको यो धरना मतदाता सूची संशोधन प्रक्रियाको विरोधमा चुनावअघि शुरु गरिएको हो। राजनीतिक वृत्तमा यसलाई महत्वपूर्ण राजनीतिक सन्देशका रूपमा हेरिएको छ। शुक्रबार सुरु भएको धरना शनिबार दोस्रो दिनमा पुगेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी