
रायपुर, ०९ मार्च (हि.स.)। केन्द्रिय महिला तथा बाल विकास मन्त्रालयको ‘मिसिङ चिल्ड्रेन रिपोर्ट' अनुसार १ जनवरी, २०२५ देखि ३१ जनवरी, २०२६ सम्म छत्तीसगढ़बाट ९८२ बालबालिका हराएका छन्। तीमध्ये ५८२ जनालाई फेला पारिएको छ भने ४०० बालबालिका अझै पनि हराइरहेका छन्। यस मामिलामा छत्तीसगढ़ देशभर छैटौँ स्थानमा रहेको छ, जहाँ १४ देखि १७ वर्ष उमेर समूहका किशोरीहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
८ मार्च, २०२६ मा सार्वजनिक गरिएको उक्त रिपोर्ट अनुसार, यी तथ्याङ्कका आधारमा छत्तीसगढ़ बेपता बालबालिकाको मामिलामा देशमा छैटौँ स्थानमा छ। पछिल्ला पाँच वर्षदेखि राज्य लगातार टप-१० राज्यहरूमा पर्दै आएको छ। तथ्याङ्कको विश्लेषणले १४ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीहरू सबैभन्दा बढी प्रभावित भएको देखाएको छ। यस उमेर समूहमा केटीहरूको संख्या केटाहरूभन्दा बढी छ। विशेषज्ञहरूका अनुसार, मानव तस्करी, बाल श्रम, पारिवारिक विवाद वा घरबाट भाग्ने जस्ता कारणहरू बालबालिका हराउनुका प्रमुख कारण हुन सक्छन्।
छत्तीसगढ पुलिसले जनाए अनुसार, ‘अपरेशन मुस्कान’ अभियान अन्तर्गत उल्लेखनीय सफलता हासिल भएको छ। राज्य पुलिसका टोलीहरू बालबालिकाको खोजीमा महाराष्ट्र, तेलंगाना, उत्तर प्रदेश र दिल्ली सहित १८ भन्दा बढी राज्यहरू सम्म पुगेका थिए।
जिल्लागत रूपमा जांजगीर-चांपा जिल्लाबाट सबैभन्दा बढी ७६ बालबालिका फेला परेका छन्। त्यसपछि रायपुर (५६) र बिलासपुर (५२) को स्थान रहेको छ। पुलिसले बेपता हुने मुख्य कारणमा पारिवारिक विवाद, गरिबी तथा सामाजिक सञ्जालमार्फत भ्रमित हुनु रहेको बताएको छ।
रिपोर्ट अनुसार, पश्चिम बंगाल यस मामिलामा पहिलो स्थानमा छ, जहाँ उक्त अवधिमा १९,१४५ बालबालिका हराएका थिए। तीमध्ये १५,४६५ जनालाई फेला पारिएको छ भने ३,६८० बालबालिका अझै हराइरहेका छन्। त्यस्तै मध्य प्रदेश दोस्रो स्थानमा छ, जहाँ ४,२५६ बालबालिका हराएका थिए र तीमध्ये १,०५९ जनाको अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन।
नागाल्यान्ड, अरुणाचल प्रदेश, मणिपुर, त्रिपुरा, गुजरात, लक्षद्वीप तथा दादरा र नगर हवेलीमा भने उक्त अवधिमा बालबालिका हराएको कुनै पनि उजुरी दर्ता भएको छैन।
हिन्दुस्थान समाचार / भवानी थामी