
वाशिङ्टन, १५ अप्रेल (हि.स.)। इजरायल र लेबनानबीच अमेरिकाको मध्यस्थतामा भइरहेको प्रत्यक्ष वार्ताको पहिलो चरण समाप्त भएको छ। करिब तीन दशकपछि भएको यो प्रत्यक्ष वार्तालाई क्षेत्रमा शान्ति स्थापना गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ, तर हालसम्म युद्धविराममा कुनै ठोस सहमति बन्न सकेको छैन।
अमेरिकामा इजरायलका राजदूत येचिएल लेइटरले लेबनानकी राजदूत नादा हमादेहसँग भएको दुई घण्टाको बैठकलाई “धेरै सकारात्मक” बताएका छन्। उनले भने, दुवै पक्षबीच विभिन्न महत्वपूर्ण प्रस्ताव र सुझाउहरूबारे छलफल भएको छ, जसलाई अब आ-आफ्नो सरकारसमक्ष प्रस्तुत गरिनेछ।
तर, युद्धविरामको विषयमा इजरायलले स्पष्ट अडान लिँदै कुनै पनि प्रतिबद्धता गर्न अस्वीकार गरेको छ। लेइटरले भने, उनीहरूको प्राथमिकता इजरायलका नागरिकहरूको सुरक्षा सुनिश्चित गर्नु हो, र जबसम्म सीमापारबाट आक्रमण जारी रहन्छ, तबसम्म सैन्य कारबाही रोकिने छैन।
उनले हिज्बुल्लाहलाई कमजोर भएको बताउँदै इजरायलले आफ्नो सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पारे। साथै, उनले भविष्यमा लेबनान र इजरायलबीच राम्रो र औपचारिक सम्बन्ध स्थापना हुने सम्भावनालाई पनि नकारेका छैनन्।
लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार, यो वार्ता सीमामा बढ्दो तनाउ कम गर्ने र स्थायी समाधानतर्फ अघि बढ्ने प्रारम्भिक प्रयास हो। दुवै पक्ष आगामी हप्ताहरूमा फेरि वार्ताका लागि भेट्ने सम्भावना रहेको छ।
युद्धविराम तुरुन्तै सम्भव नभए पनि संवाद पुनः शुरु हुनु आफैंमा सकारात्मक संकेत हो, जसले भविष्यमा शान्ति प्रक्रियालाई अगाडि बढाउन सहयोग गर्न सक्छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी