
कोलकाता, 20 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउ- 2026 पूर्व तृणमूल कंग्रेसले दाबी गरेको छ, चुनाउ आयोगले राज्यभरिबाट उसका आठ सय कार्यकर्ताहरूलाई पक्राउ गर्ने तयारी गरिरहेको छ। यस आशंकालाई लिएर पार्टीले सोमवार कलकत्ता उच्च अदालतको ढोका ढक्ढकायो।
मुख्य न्यायाधीश सुजय पाल र न्यायमूर्ति पार्थसारथी सेनको खण्डपीठ समक्ष मामिलाको उल्लेख गरिएपछि अदालतले याचिका दर्ता गराउने अनुमति दिएको छ। मामिलाको सुनवाई आगामी बुधवार हुनसक्छ।
तृणमूल समर्थकहरूको पक्षबाट वरिष्ठ अधिवक्ता कल्याण ब्यानर्जीले अदालतमा भने, राष्ट्रिय चुनाउ आयोगले पुलिसको माध्यमबाट विधानसभा क्षेत्रहरूबाट तृणमूल कार्यकर्ताहरूको सूची तयार गराएको छ। उनले आरोप लगाए, यी कार्यकर्ताहरूलाई पक्राउ गर्ने आशंका छ, त्यसैले अदालतले तत्काल हस्तक्षेप गर्नुपर्छ।
पछिल्लो केही दिनदेखिको मुख्यमन्त्री ममता ब्यानर्जीले पनि चुनाउ प्रचारका सभाहरूमा आरोप लगाउँदै आइरहेकी छन्, तृणमूल नेता, कार्यकर्ता तथा बूथ एजेन्टहरूलाई मतदानपूर्व पक्राउ गर्ने षड़यन्त्र रचिरहेको छ। उनले पार्टी संगठनलाई वैकल्पिक व्यवस्था तयार राख्ने निर्देश पनि दिएकी छन्।
अर्कोतिर चुनाउ आयोगले निष्पक्ष एवं शान्तिपूर्ण मतदान सुनिश्चित गर्नको लागि कड़ा कारबाही गरिरहेको छ। प्रशासनिक सूत्रानुसार अहिलेसम्ममा राज्यभरिबाट दुई लाखभन्दा अधिक सम्भावित उपद्रवीहरूलाई सतर्कता स्वरूप हिरासतमा लिसकिएको छ। यसलाई अभूतपूर्व कदम मानिँदैछ।
यस अतिरिक्त प्रथम चरणको मतदान हुनअघि एकै रातमा 135 जना चिन्हित अपराधीहरूलाई पक्राउ गरिएको छ जसमा कुचबिहार, दक्षिण 24 परगना, मालदा र मुर्शिदाबाद जिल्लाका आरोपीहरू सामेल रहेको बताइएको छ।
अब यस मामिलामा उच्च न्यायालयमा हुने सुनवाईमाथि राजनीतिक एवं प्रशासनिक दुवै जमातको ध्यान केन्द्रित भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा