
मङ्गन, 20 अप्रेल (हि.स.)। सिक्किम अग्नि तथा आपतकालीन सेवा, चुङथाङको तत्वावधानमा राष्ट्रिय अग्नि सेवा हप्ता अन्तर्गत आयोजित हप्ताव्यापी कार्यक्रम आज चुङथाङ पञ्चायत कार्यालयमा आयोजित जागरूकता कार्यक्रमका साथ समापन भयो। कार्यक्रममा पञ्चायत अध्यक्ष, पञ्चायत सदस्यहरू, स्थानीय जनता, ज्येष्ठ नागरिकहरू र चुङथाङ बजारका दोकानेहरूको उपस्थिति रहेको थियो।
अग्नि सेवा विभागका कर्मचारीहरूले अग्नि सुरक्षा, रोकथाम उपायहरू र आपतकालीन प्रतिक्रिया संयन्त्रको महत्त्वलाई प्रकाश पार्दै एक जानकारीमूलक सत्र सञ्चालन गरे। कार्यक्रम चुङथाङका उप-अग्नि अधिकारी रिन्जिङ लामाको मार्गदर्शनमा सम्पन्न भएको थियो, जसमा चुङथाङ दमकल स्टेशनका अधिकारी र कर्मचारीहरूको सहभागी बनेका थिए।
कार्यक्रमको एक भागको रूपमा आगलागीको घटनामा सार्वजनिक तयारी बढाउन आगो निभाउने उपकरण र आधारभूत अग्नि नियन्त्रक उपकरणहरूको प्रयोगलाई लिएर व्यावहारिक प्रदर्शनहरू गरिएको थियो। यस पहलको उद्देश्य समुदायलाई आगोको जोखिमको बारेमा सचेत गराउनु तथा सुरक्षा र सतर्कताको संस्कृति प्रवर्द्धन गर्नु थियो।
14 अप्रेलदेखि 20 अप्रेलसम्म आयोजित यो उत्सव सुरक्षित विद्यालय, सुरक्षित अस्पताल र अग्नि सुरक्षा सचेत समाज- आगलागी रोकथामका लागि एकजुट विषयवस्तुमा केन्द्रित थियो। सहभागीहरूले सत्रहरूमा सक्रिय रूपमा भाग लिए र तृणमूल स्तरमा जागरूकता फैलाउन विभागको प्रयासको प्रशंसा गरे।
हिन्दुस्थान समाचार / बिशाल