
खड़गपुर, 21 अप्रेल (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता दिलीप घोषले दाबी गरेका छन्, पश्चिम बंगालमा तृणमूल कंग्रेसको बिदाई निश्चित छ। मंगलवार बिहान खड़गपुरमा पत्रकारहरूसित बातचित गर्दै उनले भने, राज्यमा सत्ता परिवर्तन हुने समय आइसकेको छ।
दिलीप घोषले भने, “तृणमूल कंग्रेसको बिदा हुने समय आइसकेको छ। अब ममता ब्यानर्जीको हातमा केही पनि छैन। उनको बिदाई निश्चित छ।”
उनले आरोप लगाए, राज्यमा मानिसहरू भयपूर्ण वातावरणमा बाँचिरहेका छन्। मतदानको दिन स्वतन्त्र रूपमा आफ्नो मताधिकारको प्रयोग गर्न सक्दैनन्। घोषले भने, यदि मतदान केन्द्रहरूको जिम्मेवरी केन्द्रिय बलहरूलाई सुम्पिइयो भने निश्चिन्त भएर मानिसहरूले मतदान गर्न सक्नेछन्।
उनले भने, “बूथ केन्द्रिय बलहरूको नियन्त्रणमा भएपछि मानिसहरूले शान्तिपूर्ण ढंगमा मतदान गर्नेछन्। यहाँ पुलिसले गुण्डाहरूसित मिलेर मानिसहरूलाई डर देखाउने काम गर्छ।”
भाजपा नेताले तृणमूल कंग्रेसलाई लक्षित गर्दै भने, पार्टी अब समाजविरोधी तत्वहरूको हातमा पुगेको छ। हल्ला गरेर अब केही लाभ हुनेवाला छैन।
दिलीप घोषले चुनाउ आयोग र न्यायपालिकाको सराहना पनि गरे। उनले भने, दुवै संस्थानहरूले जनताका लागि न्याय सुनिश्चित गर्ने प्रयास गरिरहेका छन्।
उनले भने, “म चुनाउ आयोगलाई धन्यवाद दिन चाहन्छु। यदि केन्द्रिय बलले बूथहरूको दायित्व लिए मानिसहरूले शान्तिपूर्वक मतदान गर्न सक्नेछन्।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा