
खरसाङ, 21 अप्रेल (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) उम्मेदवार अमर लामाले मंगलवार खरसाङ विधानसभा क्षेत्रका मतदातालाई सम्बोधन गर्दै भने, हामी जे सक्छौं, त्यो भन्छौं अनि जे भन्छौं त्यो गर्छौं। आफ्नो लामो राजनीतिक यात्राको चर्चा गर्दै आफुले जीवनको उत्कृष्ट समय राजनीतिलाई समर्पित गरेको दाबी गरे।
उनले भने, मैले खाउँ-खाउँ, लाउँ-लाउँ भन्ने उमेर राजनीतिलाई दिएँ। यस यात्रामा कष्ट पनि भोगेँ, गुमाएँ पनि, तर अनुभव पनि बटुलेँ। लामाले आफ्नो उम्मेदवारीमा पार्टी अध्यक्ष अनित थापाको महानता लुकेको बताउँदै भने, राजनीति गर्नेको छाती ठूलो हुनुपर्छ। खरसाङ क्षेत्रका विकासका सन्दर्भमा लामाले स्पष्ट प्रतिबद्धता जनाए।
उनले भने, क्षेत्रका समस्याहरू केवल घोषणापत्रमा सीमित राख्नै छैनौं। मस्तिष्कमा राखेका छौं। उनले खरसाङमा कार पार्किङ सुविधा, अस्पताल र खेल स्टेडियम निर्माण गरिने बताए। उनले आफ्नो जन्मथलो दार्जिलिङ भए पनि अब खरसाङ आफ्नो कर्मथलो हुने घोषणा गरे।
हिन्दुस्थान समाचार / हनोक