
खरसाङ, 21 अप्रेल (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) ले खरसाङमा विचारको परिवर्तन यात्रा नामक विराट ऱ्याली आयोजना गऱ्यो। ऱ्याली खरसाङको मोटर स्ट्याण्डबाट शुरु भएर हिल कार्ट रोड हुँदै खरसाङ महकुमा अस्पताल मोडबाट वर्द्धमान रोड भएर पुनः मोटर स्ट्याण्ड आइपुगेर समापन भयो।
ऱ्यालीमा भागोप्रमो केन्द्रिय संस्थापक अध्यक्ष अनित थापा, खरसाङ विधानसभा समष्टिका उम्मेदवार अमर लामा, जीटीएका डेपुटी चेयरम्यान राजेस चौहान, सभादहरु, जनप्रतिनिधिहरु र पार्टी कार्यकर्ताहरु सहभागी बने। ऱ्याली खरसाङको मोटर स्ट्याण्डमा आइपुगेर एक चुनावी पथसभामा परिणत भयो। सभालाई सुष्मा राई, भागोप्रमोका उम्मेदवार अमर लामा र भागोप्रमो अध्यक्ष अनित थापाले सम्बोधन गरेका थिए।
उल्लेखनीय छ, भागोप्रमोले मिरिकबाट विचारको परिवर्तन यात्रा शुरु गरेको थियो। यस क्रममा सोमवार दार्जिलिङमा, मंगलबार खरसाङ र कालेबुङमा विचारको परिवर्तन यात्रा आयोजना गरियो।
हिन्दुस्थान समाचार / हनोक