नेपाली नागरिक अमृत झा अझै पनि इरानको जेलमा बन्दी, विदेशमन्त्रीमाथि गलत जानकारी दिएको आरोप
नेपाली नागरिक अमृत झा अझै पनि इरानको जेलमा बन्दी, विदेशमन्त्रीमाथि गलत जानकारी दिएको आरोप


काठमाडौं, २२ अप्रेल (हि.स.)। नेपालका विदेशमन्त्री शिशिर खनालमाथि नेपाली नागरिक अमृत झाको इरानको जेलबाट रिहाइबारे देशलाई गलत जानकारी दिएको आरोप लागेको छ। खनालको दावीको सात दिन बितिसक्दा पनि अमृत झा इरानको जेलमै छन्।

खनालले १५ अप्रेलमा सामाजिक सञ्जाल पोस्टमा लेखेका थिए, अमृत झा इरानको हिरासतबाट रिहा भएका छन्। इरानमा हाम्रो मानार्थ महावाणिज्य दूतावास र कतारस्थित दूतावास उनीसँग सम्पर्कमा छन्। हाम्रो टोलीले उनीहरूलाई इरानबाट बाहिर ल्याउन काम गरिरहेको छ।” मन्त्री खनालले स्थानीय अदालतबाट रिहाइको आदेश प्राप्त भएको र त्यही आधारमा उनीहरूलाई रिहा गरी इरानको केश्म टापु (समुद्री टापु) मा सुरक्षित राखिएको पनि बताएका थिए।

अमृत झाका आफन्त राजेश झाका अनुसार, अमृतले मङ्गलबार साँझ करिब ५ बजी फोन गरी आफू अझै जेलमै रहेको बताएका थिए। अमृतले परिवारलाई दिएको जानकारीअनुसार, उनी हाल इरानको बन्दर अब्बास जेलमा छन्। होर्मोजगान प्रान्तमा अवस्थित यो जेललाई मानवअधिकारकर्मीहरूले प्रायः प्रश्न उठाउने गरेका छन्। यो जेल विशेष गरी विदेशी नागरिकहरू, मादक पदार्थसम्बन्धी मुद्दाका अभियुक्तहरू र गम्भीर अपराधका कैदीहरूलाई राख्नका लागि चिनिन्छ।

राजेश झाले सञ्चारमाध्यमसँग कुराकानी गर्दै भने, “विदेशमन्त्रीले रिहा भएको जानकारी दिँदा हामी धेरै खुशी भएका थियौं। तर हिजो साँझ करिब ५ बजी अमृतको फोन आयो र उनले भने, म त अझै जेलमै छु, मलाई कसले रिहा गर्‍यो, यो सुन्दा हामी छक्क पर्न गयौं।” विदेशमन्त्रीको दावीले खुशी भएको झा परिवार अझ बढी तनाउमा छ। पहिले फोनमा अमृत सामान्य र हाँस्दै कुरा गर्थे, तर हिजोको कुराकानीमा उनी धेरै निराश देखिए। अमृतले परिवारलाई अदालतबाट एक पत्र प्राप्त भएको तर मुद्दाको अनुसन्धान जारी रहेकाले अझै जेलमै राखिएको जानकारी दिएको राजेशले बताए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande