बङ्गालमा गर्मीबाट राहत पाउने सम्भावना, आइतवारदेखि कोलकाता लगायत दक्षिण बङ्गालमा कालबैशाखी र वर्षा हुने पूर्वानुमान
बङ्गालमा गर्मीबाट राहत पाउने सम्भावना, आइतवारदेखि कोलकाता लगायत दक्षिण बङ्गालमा कालबैशाखी र वर्षा हुने पूर्वानुमान


कोलकाता, 24 अप्रेल (हि.स.)। वैशाख महिनामा चर्को घाम र बढ़्दो गर्मीले हैरान पश्चिम बङ्गालका मानिसहरूले चाँड़ै नै राहत पाउने सम्भावना छ। अलिपुर मौसम विभागले दक्षिण बङ्गालका विभिन्न जिल्लाहरूमा कालबैशाखी (हावा-हुन्डरी) आउने पूर्वानुमान जारी गरेको छ। आइतवारदेखि कोलकाता सहित सम्पूर्ण दक्षिण बङ्गालमा मौसम परिवर्तन हुने सम्भावना व्यक्त गरिएको छ।

मौसम विभाग अनुसार शनिवारदेखि नै दक्षिम बङ्गालका केही स्थानहरूमा मेघ गर्जनसितै वर्षा शुरू हुनसक्छ। उत्तर 24 परगना, मुर्शिदाबाद, नदिया, बीरभूम, पूर्व बर्धमान, पश्चिम बर्धमान, बाँकुड़ा, पुरुलिया, झाड़ग्राम औ पश्चिम मेदिनीपुर जिल्लामा सतर्कता जारी गरिएको छ।

आइतवारदेखि आगामी शुक्रवारसम्म कोलकाता सहित दक्षिण बङ्गालका सबै जिल्लाहरूमा कालबैशाखीको प्रभाव देख्न सकिन्छ। यस अवधि 40-50 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्ने अनि बिजुली चम्किनको साथै वर्षा हुने सम्भावना छ।

केही जिल्लाहरूमा तूफानको प्रभाव अधिक रहने अनुमान छ। हुगली, उत्तर 24 परगना, पश्चिम मेदिनीपुर, बाँकुड़ा, पुरुलिया, झाड़ग्राम, पूर्व एवं पश्चिम बर्धमान, मुर्शिदाबाद, नदिया तथा बीरभूममा हावाको गति 50-60 किलोमीटर प्रतिघण्टासम्म पुग्नसक्छ।

समुद्र क्षेत्रमा पनि 40-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा बगिरहेको छ जसले गर्दा मछुआराहरूलाई पश्चिम बङ्गाल र उत्तर ओडिशा संलग्न समुद्री क्षेत्रहरूमा आगामी मङ्गलवारसम्म नजाने सल्लाह दिइएको छ।

उत्तर बङ्गालमा वर्षा एवं हावा-हुन्डरीको प्रभाव अधिक रहने बताइएको छ। यहाँका दार्जीलिङ, जलपाईगुड़ी तथा अलिपुरद्वार जिल्लामा घना वर्षा हुनसक्छ। यी जिल्लाहरूको लागाि अरेञ्ज अलर्ट जारी गरिएको छ। शनिवारदेखि आगामी शुक्रवारसम्म उत्तर बङ्गालको मौसम प्रतिकूल रहनसक्छ।

मौसम वैज्ञानिकहरू अनुसार पूर्वी उत्तर प्रदेशदेखि दक्षिण बङ्गलादेशसम्म एक द्रोणिका रेखा विकसित भएको छ जुन बिहार, झारखण्ड तथा गङ्गीय पश्चिम बङ्गाल भएर गुज्रिरहेको छ। यस अतिरिक्त उत्तर प्रदेश अनि यस वरपरका क्षेत्रहरूमा एक चक्रवाती परिसञ्चरण सक्रिय भएको छ जसको प्रभावले बङ्गालको खाड़ीबाट नमीयुक्त हावा राज्यमा प्रवेश गरिरहेको छ जसको फलस्वरूप वर्षा अनि हावा-हुन्डरीको निम्ति अनुकूल परिस्थिति सृजित भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande