
आसनसोल, 26 अप्रेल (हि.स.)। आसनसोल-दुर्गापुर पुलिस कमिश्नरेटका पुलिस उपायुक्त (सेन्ट्रल) ध्रुव दासले गए शनिवार राति आयोजित एक सम्वाददाता सम्मेलनमा हाउसिङ्ग सोसाइटीमा भएको एकजना व्यक्तिको मृत्यु मामिलामा पुलिसले अहिलेसम्म गरेको जाँच प्रगति बारे जानकारी गराए। उनले बताए, आसनसोल दक्षिम थाना अन्तर्गत अनन्या हाउसिङ्ग सोसाइटी निवासी देवदीप च्याटर्जी (47) को मृत्युलाई लिएर थानामा सिकायत दर्ता गरिएको थियो जसको आधारमा हत्याको मामिला दर्ता गरी अनुसन्धान कार्य शुरू गरियो।
पुलिसले यस मामिलामा अहिलेसम्ममा तीनजना मानिसहरूलाई पक्राउ गरिसकेको छ जसमध्ये दुईजना मुख्य आरोपी रहेको बताइएको छ। प्राथमिक जाँचमा सामु आएको छ, देवदीप च्याटर्जी कुनै कार्यक्रमबाट फर्किरहेका थिए। यसै क्रममा भगत सिंह मोड़ निकट तिनको आरोपी सुभाजित मण्डलसित भनाबैरी भयो। त्यसपछि देवदीप त्यहाँबाट हाउसिङ्ग सोसाइटी तर्फ फर्किए। पुलिस अनुसार, पाँच पुलियाको छेउमा दोस्रो आरोपी रबिउल आलम मोटरसाइकलमा उनलाई पछ्याउँदै आए अनि उनलाई रोके। त्यहाँ दुईजनाको बीचमा चर्को बहस भयो जुन कुटपिटमा परिणत भयो। आरोप छ, रबिउल आलमले देवदीपमाथि कुटपिट गरे अनि उनलाई पछयाउँदै हाउसिङ्ग सोसाइटीको गेटसम्म पुगे। केही समयपछि सुभाजित मण्डल पनि त्यहाँ पुगे अनि दुवैले मिलेर देवदीपलाई फेरि कुटे जसले गर्दा तिनी गम्भीर रूपमा घाइते भए।
पुलिसले अझ बताए अनुसार, घटना घट्दा देवदीप र रबिउल आलम दुवै मातेका थिए। त्यसैले देवदीपको परिवारलेउनको चोटको गम्भीरतालाई बुझ्न सकेन। शनिवार बिहान लगभग 4:30 बजे उनकी पत्नी उनलाई उठाउन जाँदा उनी अचेत अवस्थामा थिए। त्यसपछि हाउसिङ्गका मानिसहरूको सहयोगमा उनलाई आसनसोलको एक निजी अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए। घटनाको सूचना पाएर पुलिसले घटनास्थलमा पुगी जाँच शुरू गऱ्यो।
डीसी सेन्ट्रल ध्रुव दासले बताए, घटनाको जानकारी पाएर पुलिस राती नै घटनास्थलमा पुगेको थियो। पुलिसले घाइतेलाई अस्पताल लैजाने आग्रह पनि गरेको थियो, तर परिवारका मानिसहरूले अस्वीकार गरे जसले गर्दा उनलाई घरमै छोड़िदियो।
पुलिसले अनुसन्धान गर्ने क्रममा हाउसिङ्ग सोसाइटी र आरोपीहरू तथा मृतक ओहोर-दोहोर गर्ने बाटोका सीसीटीभी फुटेजको जाँच गरिरहेको छ। साथै यो पनि जाँच गरिँदैछ कि यस घटनामा अन्य कसैको संलिप्तता त छैन।
ध्रुव दासले स्पष्ट पारे, अहिलेसम्मको जाँचमा दुवै पक्षमध्ये कोही पनि कुनै राजनीतिक पार्टीका पदाधिकारी रहेको पुष्टि भएको छैन। पुलिसले सबै पाटो र पक्षलाई ध्यानमा राखेर मामिलाको गहन जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा