
नयाँ दिल्ली, २६ अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार “मन की बात” कार्यक्रममा गुरुदेव रविन्द्रनाथ ठाकुरलाई सम्झँदै उनलाई बहुआयामिक प्रतिभाका धनी, लेखक तथा महान चिन्तकका रूपमा वर्णन गरे। उनले धेरै प्रतिष्ठित संस्थाहरूको निर्माणमा योगदान दिएको पनि उल्लेख गरे। प्रधानमन्त्रीले शान्तिनिकेतनको आफ्नो भ्रमणलाई अविस्मरणीय बताएका छन्। ९ मईमा रविन्द्रनाथ ठाकुरको जयन्ती हो।
प्रधानमन्त्रीले आफ्नो मासिक रेडियो कार्यक्रममार्फत देशको ऊर्जा क्षेत्रसँग सम्बन्धित दुई ठूला उपलब्धिहरू साझा गरे। उनले तमिलनाडुको कलपक्कमस्थित फास्ट ब्रीडर रिएक्टरले ‘क्रिटिकलिटी’ हासिल गरेकोमा वैज्ञानिकहरूलाई बधाई दिए। साथै, पवन ऊर्जा क्षेत्रमा देशको उत्पादन क्षमता ५६ गिगावाट पुगेको उपलब्धिको पनि चर्चा गरे।
“मन की बात” को १३३औँ भागमा प्रधानमन्त्रीले ऊर्जा क्षेत्रको यस उपलब्धिलाई भारतको परमाणु ऊर्जा यात्रामा महत्वपूर्ण उपलब्धि बताए। उनले भने, यो रिएक्टर पूर्ण रूपमा स्वदेशी प्रविधिबाट निर्माण गरिएको हो, जसले देशको वैज्ञानिक क्षमता र आत्मनिर्भरतालाई प्रतिबिम्बित गर्छ। साथै उनले देशका विभिन्न राज्यहरूमा पवन ऊर्जा क्षमताको विस्तारबारे जानकारी दिँदै पछिल्लो एक वर्षमा ६ गिगावाट क्षमता थपिएको र कुल उत्पादन क्षमता ५६ गिगावाट पुगेको बताए।
प्रधानमन्त्रीले कार्यक्रममा देशभर सञ्चालन भइरहेको जनगणनालाई सफल बनाउन जनसहभागिताको अपील गरे। उनले अहिलेसम्म एक करोड़ २० लाख घरको सूचीकरण कार्य सम्पन्न भएको जानकारी दिए। साथै अनलाइन माध्यमबाट आफैँ फारम भर्ने प्रक्रियाबारे पनि जानकारी दिए।
प्रधानमन्त्रीले देशको सम्पदा बुझ्ने र जान्ने दिशामा राष्ट्रिय अभिलेखालयले हालै गरेका प्रयासहरूको पनि उल्लेख गरे। अभिलेखालयले करिब २० करोड़ दस्तावेजलाई डिजिटल माध्यममा रूपान्तरण गरी सार्वजनिक गरेको छ। उनले सम्बन्धित वेबसाइटमा गएर ती कागजातहरू अध्ययन गर्न सकिने बताए।
“बीटिङ रिट्रीट” कार्यक्रमसँग सम्बन्धित धुनहरू अब वेभ्स नामक ओटीटी मञ्चमा उपलब्ध रहेको पनि उनले बताए। अब मानिसहरूले त्यहाँ गएर यी धुनहरूको आनन्द लिन सक्नेछन् र चाँडै अन्य मञ्चहरूमा पनि उपलब्ध हुने जानकारी दिए।
भगवान बुद्धका सन्देशहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले दक्षिण अमेरिकाको चिली देशको उदाहरण दिए र भारतीय विचारहरू विस्तारै विश्वभर फैलिँदै गएको बताए।
यसका अतिरिक्त उनले वन्यजन्तु संरक्षणका क्षेत्रमा भइरहेका प्रयासहरूको चर्चा गरे। कालो हरिण, द ग्रेट इण्डियन बास्टर्ड्स र अन्य जीवहरूको संरक्षणका उदाहरण दिँदै उनले मानव र प्रकृतिको सहकार्यबाट सकारात्मक परिवर्तन देखिएको बताए।
आफ्नो सरकार आएपछि बाँसलाई रूखको परिभाषाबाट बाहिर निकालिएको उल्लेख गर्दै उनले यसबाट उत्तर-पूर्वी राज्यका जनजीवनमा आएको परिवर्तनबारे जानकारी दिए। उनले त्यहाँ उत्पादित बाँसका सामग्रीहरू खरिद गर्न पनि सबैलाई आग्रह गरे।
कार्यक्रममा उनले युरोपेली बालिका गणित ओलम्पियाडको पनि चर्चा गरे, जहाँ भारतीय टोलीले राम्रो प्रदर्शन गर्दै छैटौँ स्थान हासिल गरेको छ। उनले सहभागी बालिकाहरूको नाम र उनीहरूले प्राप्त गरेका पदकहरूको पनि जानकारी दिए।
भारतीय पनिरको विश्वभर बढ्दो माग र यस क्षेत्रमा भइरहेको लगानीबारे पनि प्रधानमन्त्रीले विशेष रूपमा उल्लेख गरे। उनले भारतीय परिकारहरू अब विश्वभरका मानिसहरूको भोजनमा समावेश हुन थालेको बताए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी