
गान्तोक, 26 अप्रेल (हि.स.)। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार दुई दिवसीय भ्रमणमा सिक्किम आइरहेका छन्। उनी आफ्नो भ्रमण अवधि सिक्किम राज्य स्थापनाको 50औं वाषिर्क उत्सवको समापन समारोहमा सहभागी बन्नेछन्। यस अवसरमा प्रधानमन्त्रीले विभिन्न परियोजनाहरूको उद्घाटन एवं शिलान्यास पनि गर्नेछन्।
प्रधानमन्त्री मोदी भोलि दुई दिवसीय भ्रमणमा सिक्किम आउने भएका छन्। उनको भव्य स्वागतका लागि सिक्किम तयार रहेको छ। राजधानी गान्तोकलाई आकर्षक ढङ्गमा सजाउने कार्य गरिएको छ। राष्ट्रिय राजमार्ग 10 लाई सफा गर्ने, सड़क छेउछाउका जोखिमपूर्ण रुखहरूलाई काट्ने, प्रधानमन्त्री मोदी र मुख्यमन्त्री प्रेमसिंह तामाङका ठूला-ठूला ब्यानर र होर्डिङ लगाउने, ठाउँ-ठाउँमा स्वागत गेट निर्माण गर्ने, फुटपाथमा सतारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) र भारतीय जनता पार्टी (भाजपा) का झण्डाहरू लगाउने आदि जस्ता कार्यहरू गरिएका छन्।
प्रधानमन्त्री मोदी दिउँसो लगभग तीन बजी राजधानीको लिभिङस्थित भारतीय सेनाको हेलीप्याडमा आइपुगे कार्यक्रम रहेको छ। यहाँबाट प्रधानमन्त्री राष्ट्रिय राजमार्ग 10 अन्तर्गत देवराली, पानी हाउस, हस्पिटल डाँड़ा हुँदै लोकभवन पुग्नेछन्। यस अवसरमा राष्ट्रिय राजमार्गका छेउछाउ मानिसहरू उपस्थित रहेर प्रधानमन्त्रीलाई स्वागत जनाउने छन्।
दोस्रो दिन प्रधानमन्त्री मोदी राजधानीको पाल्जोर स्टेडियममा आयोजना गरिने सिक्किम राज्य स्थापनाको 50औं वाषिर्कोत्सवको समापन समारोहमा सहभागी बन्नेछन्। यहाँ राज्यका छवटै जिल्लाबाट जनसाधारण उपस्थित रहनेछन्। प्रधानमन्त्रीको स्वागतका लागि राज्यका कलाकारहरुले सांस्कृतिक एवं देशभक्तिपूर्ण प्रस्तुति पेश गर्नेछन्। राज्यभरिबाट आएका लगभग दुई हजार कलाकारहरूले विगत धेरै दिनदेखि निरन्तर अभ्यास गरिरहेका छन्। पाल्जोर स्टेडियममा प्रधानमन्त्रीले राज्यवासीहरूलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ। यस क्रममा उनले विभिन्न परियोजनाहरूको उद्घाटन एवं शिलान्यास गर्नेछन्।
प्रधानमन्त्री मोदीको भ्रमण तथा सिक्किम तीन अन्तरराष्ट्रिय देशहरु (नेपाल, चाइना र भुटान) ले घेरिएको एक संवेदनशील राज्य रहेको कुरालाई ध्यानमा राख्दै राज्यमा सुरक्षा कडा पारिएको छ। राजधानीका ठाउँ-ठाउँमा सुरक्षा बलहरू तैनाथ गरिएका छन्। विशेषगरी, सिक्किमका प्रवेशद्वार (चेकपोस्ट) हरुमा राज्यभित्र आउने हरेक आगन्तुकहरुको पहिचान पत्र जाँच गर्ने कार्य गरिँदैछ।
सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि प्रधानमन्त्री मोदीको भ्रमणलाई लिएर चलिरहेको तयारीको निरन्तर समीक्षा गरिरहेका छन्। यस क्रममा आज मुख्यमन्त्रीले राज्यपाललाई लोकभवनमा शिष्टाचार भेट गरी प्रधानमन्त्रीको भ्रमणबारे छलफल गरे। यसरी नै राज्यका मुख्य सचिव आर. तेलाङले आज सरकारका वरिष्ठ अधिकारीहरूको टोलीसँग पाल्जोर स्टेडियम पुगेर त्यहाँ चलिरहेको तयारीको समीक्षा गरे।
प्रधानमन्त्रीको भ्रमणलाई लिएर भाजपा प्रवक्ता सम्बित पात्रा, भाजपा सिक्किम प्रभारी डा. दिलीप जायसवाल र दार्जिलिङका सांसद राजु विष्ट सिक्किम आइपुगेका छन्। भाजपा नेतृत्वहरूले प्रधानमन्त्रीको स्वागतको तयारीको जायजा लिएका छन्।
उल्लेखनीय छ, सिक्किम राज्यले स्थापनाको 50औं वर्षगाँठ पूरा गरेको अवसरमा 16 मई, 2025 देखि वर्षव्यापी समारोह शुरु गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी गत वर्ष नै समारोहमा सहभागी बन्ने कार्यक्रम थियो। तर, खराब मौसमका कारण प्रधानमन्त्री सिक्किम आउन सकेनन्। त्यस समय उनले बागडोगरा (पश्चिम बङ्गाल) बाटै आभासी रुपमा सिक्किमका जनतालाई सम्बोधित गरेका थिए। एसकेएम पार्टीले सरकार गठन गरेपछि प्रधानमन्त्री मोदीको यो पहिलो भ्रमण हुनेछ।
---------------
हिन्दुस्थान समाचार / बिशाल