
गान्तोक, 26 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज लोक भवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गरेका छन्। यस भेटको मुख्य केन्द्र प्रधानमन्त्री नरेन्द्र मोदीको २७-२८ अप्रेल, २०२६ मा हुने आगामी सिक्किम भ्रमण रहेको थियो, जुन सिक्किमको ५०औँ स्थापना दिवसको समापन समारोहको अवसरमा आयोजना गरिँदैछ। उक्त जानकारी आज लोकभवनले दिएको छ।
भेटका क्रममा मुख्यमन्त्रीले राज्यपालसँग प्रधानमन्त्रीको भ्रमणसँग सम्बन्धित विभिन्न पक्षहरूमा विस्तृत छलफल गरे। मुख्यमन्त्रीले लोक भवन र पाल्जोर स्टेडियममा आयोजना हुने कार्यक्रमहरूको तयारीको वर्तमान अवस्थाको समीक्षा गर्दै राज्यपाललाई प्रधानमन्त्रीको आगमनलाई लिएर सिक्किमका जनतामा ठूलो उत्साह देखिएको बताए। उनले यस ऐतिहासिक कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन राज्य सरकारले सबै तहमा सम्भव सबै प्रयास गरिरहेको आश्वास्त गराए।
राज्यपालले छलफलका क्रममा प्रधानमन्त्रीको यो भ्रमण सिक्किमका विकास उपलब्धिहरू र यहाँको विशिष्ट सांस्कृतिक पहिचानलाई विश्वस्तरमा प्रस्तुत गर्ने एक प्रभावकारी माध्यम बन्ने कुरामा जोड दिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल