
खरसाङ, 26 अप्रेल (हि.स.)। खरसाङको गोर्खा जातीय विभूति उद्यानमा गोर्खा जन पुस्तकालय खरसाङद्वारा बहुआयामिक व्यक्तित्व कथाकार शिवकुमार राईको 108औँ जयन्ती पुस्तकालयका अध्यक्ष रविनकुमार प्रधानको अध्यक्षतामा पालन गऱ्यो। यस अवसरमा समाज सेवक तिलक शर्मा तथा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखिया लामा विशेष अतिथिका रूपमा उपस्थित थिए।
गोर्खा जन पुस्तकालयको आफ्नो वार्षिक कर्मसूचीमा रहेको महत्वपूर्ण कार्यक्रमहरूमध्ये एक शिवकुमार राई जयन्ती वर्षेनी भव्यतापूर्वक आयोजन गरिने भए तापनि यस वर्ष राज्यको विधानसभा चुनाउ र चुनाउ आचार संहितालाई ध्यानमा राखेर सामान्य रूपमा श्रद्धाञ्जली कार्यक्रम मात्र आयोजना गरियो। अर्कातिर, बादलको गड़गड़ाहट र सिमसिम पानीले खुल्ला आकाशको मुन्तिर अवस्थित विभूतिहरूका मूर्तिस्थलमा कार्यक्रम आयोजना गर्नु जोखिम र चुनौतीपूर्ण थियो।
यस्तो प्रतिकूल मौसममा छाता ओड़ेर भए पनि आफ्नो श्रद्धेय विभूतिप्रति श्रद्धासुमन अर्पण गर्न पुस्तकालयका उपाध्यक्ष प्रकाश प्रधान, सह सचिव गोमा सुब्बा, गोर्खा सांस्कृतिक संस्थानका सचिव प्रणिता मुखिया घिसिङ, कार्यकारी सदस्य सजित खाइबा, सदस्यहरू अरूण लामा, विजया ब्लोन कल्पना छेत्री लगायत गौतम प्रधान,जयराज शर्मा उपस्थित थिए। सचिव विनोद रसाइलीद्वारा सञ्चालित यस छोटो कार्यक्रममा कथाकार, उपन्यासकार, कवि, नाटककार, रेडियो प्रस्तोता तथा एक कुशल राजनीतिज्ञको रूपमा परिचय स्थापित गरिसक्ने राईको संक्षिप्त परिचय सचिव स्वयंले आफ्नो स्वागत सम्बोधनमा राखे भने राईले बाँचेका विविध आयाम र व्यक्तित्वहरूबारे उपस्थित विशिष्ट व्यक्तिहरूले आफ्नो मन्तव्यमा प्रकाश पारे।
वरिष्ठ समाजसेवी तिलक शर्माले आफ्नो जीवनकालमा राई गोर्खा जन पुस्तकालयसँग सदस्यको रूपमा संलग्न मात्र नभई सक्रिय पनि रहेको कुरो अवगत गराए। सत्तरीको दशकको मध्यतिर शिवकुमार राई भानु सांस्कृतिक समिति, पुस्तकालयकै एक उप समितिका अध्यक्ष रहेको एवम् उनकै तत्परतामा भानुभक्तको मूर्ति स्थापनाको परियोजना तयार गरी समितिले 13 जुलाई, 1976 मा आदिकविको मूर्तिको शिलान्यास डा. पारसमणि प्रधानको बाहुलीबाट गरिएको ऐतिहासिक तथ्यलाई प्रकाश पारे।
आकाशवाणी खरसाङको चर्चित कार्यक्रम शम्भु दाईको हुलाकका मूल पात्र शम्भु दाई अर्थात् शिवकुमार राईको अर्को पक्ष नाटक विधामा रहेको प्रतिभा र दक्षताका बयान गर्दै आशा मुखिया लामाले राईका निर्देशनमा आफूले एउटा चरित्रको अभिनय गर्ने अवसर पाएको बताइन्। त्यसताकको एक मात्र नेपाली दैनिक हिमालचुलीका सम्पादक पनि रहेका राईको पत्रकारितामाथि बोल्दै उपाध्यक्ष प्रकाश प्रधानले विद्यार्थी जीवनमा उक्त खबरकागज र शिवकुमार राईका छत्रछायामा रहेको आफ्नो जीवनको एउटा पाटोलाई जोड़ेर राईको बहुआयामिक पक्षलाई प्रकाश पारे।
स्मरण रहोस्, गोर्खा जन पुस्तकालयले सन् 2018-19 लाई शिवकुमार राई जन्म शतवार्षिक वर्ष घोषित गरी राष्ट्र र वर्षव्यापी कार्यक्रम भारतका विभिन्न प्रान्तहरू जस्तै सिक्किम, असम, दिल्ली, देहरादून लगायत डुवर्स, दार्जिलिङ, मिरिक, सिलगढ़ी, कालेबुङ, मङ्पूलगायत विभिन्न क्षेत्रमा विविध कार्यक्रमको निम्ति संघ संस्थाहरूलाई जागारूक र प्रेरित गरेको थियो। पुस्तकालयले गोर्खा जातीय विभूति उद्यानको निर्माण र विभूतिहरूका मूर्ति स्थापित गरिसकेको छ। छजना गोर्खा विभूतिहरूमध्ये शिवकुमार राईको मूर्ति पनि यस उद्यानमा स्थापित छ। यसै कुरोको उल्लेख गर्दै अध्यक्ष रविनकुमार प्रधानले उपस्थित सबै अतिथिहरूलाई धन्यवाद ज्ञापन गरी कार्यक्रम समापनको घोषणा गरिएको थियो।
हिन्दुस्थान समाचार / हनोक