
गान्तोक, 27 अप्रेल (हि.स.)। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार दिउँसो दुई दिवसीय सिक्किम भ्रमणका लागि राजधानी गान्तोक आइपुगे। उनी राजधानी नजिकै रहेको लिबिङस्थित आर्मी हेलिप्याडमा अवतरण गरे, जहाँ उनको मुख्यमन्त्री प्रेमसिंह तामाङ, राज्य भाजपा अध्यक्ष डीआर थापा तथा अन्य गण्यमान्य व्यक्तिहरूले न्यानो स्वागत गरे।
त्यसपछि प्रधानमन्त्री मोदी लोक भवनतर्फ प्रस्थान गर्ने क्रममा रोड शोमा सहभागी भए। यस अवधि सडक किनारमा ठूलो संख्यामा मानिसहरू परम्परागत पोशाकमा सजिएर परम्परागत बाजागाजासहित उनको स्वागत गरे। मानिसहरूले उत्साहपूर्वक नाराबाजी गर्दै प्रधानमन्त्रीलाई अभिवादन गरेका थिए भने प्रधानमन्त्री मोदीले पनि हात हल्लाएर अभिवादन स्वीकार गरे। मानिसहरू बिहानैदेखि उनको स्वागतका लागि उत्सुकतापूर्वक पर्खिरहेका थिए।
यो रोड शो देउरालीस्थित गञ्जु लामा द्वारबाट शुरु भई पानी हाउस, सिसा गोलाई, अस्पताल डाँडा, जिरो पोइन्ट हुँदै राष्ट्रिय राजमार्ग १० मार्फत लोक भवनसम्म पुगेको थियो। रोड शोका क्रममा प्रधानमन्त्री मोदीसँगै मुख्यमन्त्री तामाङ र राज्य भाजपा अध्यक्ष डीआर थापा पनि सहभागी थिए।
उल्लेखनीय छ, प्रधानमन्त्री मोदी दुई दिवसीय भ्रमणमा सिक्किम आएका छन्। भोलि उनले सिक्किमको राज्यत्वको ५०औँ वर्ष पूरा भएको अवसरमा पाल्जोर स्टेडियममा आयोजना हुने समापन समारोहमा भाग लिनेछन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल