
खरसाङ, 27 अप्रेल (हि.स.)। आठौँ तेराख महाकवि देवकोटा पुरस्कारद्वारा लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान कलकत्ता पुरस्कृत भएको छ। नेपालको मेची नगर, धुलाबारी उच्च माध्यमिक विद्यालयको प्रेक्षागृहमा सम्पन्न एक भव्य कार्यक्रममा कलकत्ताबाट लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठानलाई प्रतिनिधित्व गरी गएका दुई प्रतिनिधि प्रा डा किरण सुब्बा र सन्तोषचन्द्र दर्नाललाई नगद राशि, अङ्ग वस्त्र, स्मृति चिन्ह, कार्यक्रमका प्रमुख अतिथि सांसद गोपाल कुमार बस्नेतको बाहुलीबाट प्रदान गरियो।
तेराख प्रतिष्ठान धुलाबारीले विगत 8 वर्षबाट प्रतिवर्ष वैशाख महिनाको दोस्रो शनिबार यो पुरस्कार प्रदान गर्दछ। एकपटक नेपाल र अर्को पटक नेपाल बाहिरका स्रष्टा या संस्थालाई यो पुरस्कार प्रदान गर्ने चलन छ।
स्मरण रहोस्, लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान कलकत्ताले आफ्नो स्थापनाकालदेखि नै भाषा, साहित्य अनि कलाको विकासमा आफ्नो विशिष्ट योगदान पुऱ्याइरहेको छ। प्रतिवर्ष भाषा मान्यता दिवसको छेक पारेर लैनसिंह बाङ्देल स्मृति पुरस्कार, स्रष्टा र विद्यार्थीवर्गलाई सम्मान गरिन्छ।
50 को दशकमा वरिष्ठ साहित्यकार साथै अन्तरराष्ट्रिय चित्रकार लैनसिंह बाङ्देलको सम्पादन/प्रकाशनमा प्रकाशित साहित्यिक पत्रिका प्रभातको पुनः प्रकाशन पनि गरिरहेको छ। यस कार्यक्रमको सभापति तेराख प्रतिष्ठानका सभापति शिवकुमार पौडेल र कार्यक्रमको सञ्चालन मुनामाया राणा र जय भण्डारीले गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक