प्रधानमन्त्री नरेन्द्र मोदीले 'सिक्किम केन्द्रिय विश्वविद्यालय' को स्थायी क्याम्पसको उद्घाटन गर्ने
नवनिर्मित सिक्किम केन्द्रिय विश्वविद्यालयको स्थायी क्याम्पस।


गान्तोक, 27 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दुई दिवसीय सिक्किम भ्रमणको क्रममा 'सिक्किम केन्द्रिय विश्वविद्यालय' को स्थायी क्याम्पसको उद्घाटन गर्नेछन्। विश्वविद्यालयको स्थायी क्याम्पसको उद्घाटन लगभग 19 वर्षपछि हुन लागेको हो।

सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले विश्वविद्यालयको स्थायी क्याम्पसको उद्घाटन प्रधानमन्त्रीको बाहुलीद्वारा हुन लागिरहेकोमा खुशी प्रकट गरेका छन्। साथै, उनले सिक्किम डेमोक्रेटिक फ्रन्टको सरकारमा सिक्किम विश्वविद्यालयको स्थायी क्याम्पस उपेक्षित र अपूर्ण रहेको आरोप पनि लगाएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी सोमवार दिउॅंसो दुई दिवसीय भ्रमणमा सिक्किम आइपुग्ने छन्। उनी आज एक रोड शोमा सहभागी बन्नेछन्। भोलि, भ्रमणको दोस्रो तथा अन्तिम दिन राजधानीको पाल्जोर स्टेडियममा सिक्किम राज्य स्थापनाको 50औं वर्षगॉंठको समापन समारोहमा भाग लिनेछन्। यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्नुका साथै प्रधानमन्त्रीले सिक्किम केन्द्रिय विश्वविद्यालयको स्थायी क्याम्पस लगायत अन्य विभिन्न परियोजनाहरूको उद्घाटन एवं शिलान्यास गर्नेछन्।

सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टी के सांसद सुब्बाले आज जारी एक प्रेस विज्ञप्तिमा 19 वर्षको लामो पर्खाइपछि सिक्किम विश्वविद्यालयको नयाँ बिहानी हुने निश्चित भएको बताएका छन्। उनले १९ वर्षअघि, 2007 सालमा सिक्किम विश्वविद्यालयको स्थापना सिक्किमका पहाडमा शिक्षा बत्ती बनोस्, अन्धकारबाट निस्कने उज्यालो बनोस्, भावी पुस्ताहरूलाई ज्ञान, मर्यादा र प्रगतितर्फ डोऱ्याओस् भन्ने आशाका साथ गरिएको उल्लेख गरेका छन्। उनले 19 वर्षपछि त्यो सपना आज ऐतिहासिक पडावमा पुगेको बताउॅंदै प्रधानमन्त्री नरेन्द्र मोदीले 28 अप्रेल, 2026 मा स्थायी क्याम्पसको भर्चुअल उद्घाटन गर्ने जानकारी गराएका छन्।

सांसद सुब्बाले पूर्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट सरकारमाथि आरोप लगाउॅंदै भने, 'धेरै समयसम्म, सिक्किम विश्वविद्यालयको स्थायी क्याम्पस रोकियो, उपेक्षित र अपूर्ण रह्यो। पवन चामलिङको नेतृत्वमा सिक्किम डेमोक्रेटिक फ्रन्टको अघिल्लो प्रशासनको अधीनमा सिक्किम विश्वविद्यालयको क्याम्पसको निर्माणलाई आवश्यक पर्ने तत्परता र प्राथमिकता प्राप्त भएन। वर्षौं बित्दै जाँदा विद्यार्थीहरूले अनिश्चितताका साथ अध्ययन गरे, विद्वानहरूले पर्खे, र आशा लिएर जन्मेको संस्थानलाई आवश्यक घरबाट वञ्चित गरियो। यस्तो उपेक्षाले हामीलाई सम्झाउँछ कि जब सरकारहरू शिक्षालाई प्राथमिकता दिन असफल हुन्छन्, तब तिनीहरूले भवनहरू मात्र होइनन्, युवाहरूको भाग्यलाई पनि अदेखा गर्छन्।'

सांसद सुब्बाले सत्यको पनि आफ्नै धैर्य हुन्छ भन्दै अब विश्वविद्यालयको स्थायी क्याम्पसको उद्घाटनसँगै एउटा नयाँ अध्याय शुरु हुने विश्वास व्यक्त गरेका छन्। उनले यो क्याम्पस अब पूर्वाधारको रूपमा मात्र होइन, तर सत्यको रूपमा पनि खडा हुने बताएका छन्। उनले यो विश्वविद्यालय त्यस्तो ठाउँ बनोस् जहाँ संस्कृति र विज्ञानको, परम्परा र आधुनिकताको र स्थानीय पहिचान र विश्वव्यापी उत्कृष्टताको मिलाप होस् भनी कामना पनि गरेका छन्।

स्मरण रहोस्, सिक्किम केन्द्रिय विश्वविद्यालयको स्थापना वर्ष 2007 मा पूर्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीको सरकारमा भएको थियो। तर, कथित जमिन अधिग्रहण, क्षतिपूर्ति लगायत अन्य विवादहरूका कारण विश्वविद्यालयको स्थायी क्याम्पसको निर्माण कार्य सुचारू रूपमा चल्न सकेन। यतिका वर्षसम्म विश्वविद्यालय राजधानी गान्तोकमा विभिन्न किरायका भवनमा सञ्चालन भइरहेका छन्। अ​हिले केही विभागहरू विश्वविद्यालयका स्थायी क्याम्प्समा सञ्चालन शुरू भएका छन्।

सिक्किम केन्द्रिय विश्वविद्यालयको स्थायी क्याम्प्स नाम्ची जिल्लाको राङगाङ याङगाङ निर्वाचन क्षेत्र अन्तर्गत याङगाङमा अवस्थित छ, जुन राजधानीदेखि लगभग 55 किलोमिटर टाडा छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande