
जनताको मायाले पहाडका तीनैवटा सिटहरु जित्नेछौं: सञ्जीव लामा
सोनादा, 03 अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीको उम्मेदवार सोनाम लामाले आज सोनादा पचेङ मण्डलमा चुनाउ प्रचार गरेका छन्। लामाले आफ्नो चुनाउ प्रचार सोनादा बजारबाट शुरु गरेर स्थानीय मानिसहरुलाई भोटको निम्ति अपील गरे।
यसावधि उनीसित भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा, जिल्ला सचिव बिनय प्रसाद, मिडिया प्रभारी चन्दन प्रसाद लगायत अन्य पदाधिकारीहरुका साथै सोनादा पचेङ मण्डलका पदाधिकारीहरु पनि उपस्थित रहेका थिए। यसावधि भाजपा प्रार्थीको पक्षमा सोनादा बजारमा स्थानीयहरु र व्यापारीहरुबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताइएको छ।
भाजपा प्रार्थी सोनाम लामा चुनाउ प्रचार गर्दै पूर्व सांसद एवम् क्रामाकपाको वरिष्ठ नेता आरबी राईसित पनि भेट गरी आशीर्वाद लिए। लामाले पूर्व सांसद राईको रंगबुल धोतरिया रंगमुक समष्टि अन्तर्गत चन्द्रमानधुरास्थित घरमा पुगेर भेट गरेका थिए।
चुनाउ प्रचार विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले सोनादा क्षेत्रमा भाजपा प्रार्थी सोनाम लामाप्रति स्थानीयहरुले सकारात्मक प्रतिक्रिया दिएको बताए। उनले सही र योग्य व्यक्तिलाई भोट दिएर जिताउने आह्वान् गरे। उनले यसपाली जनताको माया र स्नेहका कारण बंगालमा भाजपाको सरकार बनिने दाबी गरे। उनले साइलेन्ट भोटर्सहरुले पहाडका तीनैवटा सिटहरुमा पनि भाजपा उम्मेदवारहरूलाई जिताउने ठोकुवा गरे।
---------------
हिन्दुस्थान समाचार / हनोक