
गान्तोक, 03 अप्रेल (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले तीन दिवसीय मङ्गन जिल्ला भ्रमणका क्रममा आज काख लिएको गाउँको पुनर्निर्माण र विकासतर्फ चुङथाङ जीपीयूमा जिम्नेसियम हलको उद्घाटन गरे। उक्त ग्राम पञ्चायत एकाई राज्यपालले काख लिएको लोकभवनले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।
सन् 2023 को विनाशकारी बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त बनेको चुङथाङ क्षेत्रको पुनर्निर्माणको दिशामा यसलाई महत्वपूर्ण उपलब्धि मानिएको छ। गाउँवासीहरूले लामो समयदेखि जिम्नेसियम हलको नवीकरणको माग गर्दै आएका थिए। राज्यपालले उक्त मागलाई ध्यानमा राख्दै पूर्ण रूपमा नवीकरण गराई जनतालाई समर्पण गरेका छन्। यस कार्यको आर्थिक व्यवस्थापन पनि राज्यपाल कार्यालयद्वारा गरिएको बताइएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राज्यपालले भने, “चुङथाङ मैले काख लिएको गाउँको हिस्सा हो। मैले यहाँका समस्याहरू समाधान गर्ने वाचा गरेको थिएँ। 2023 को बाढीले यहाँका बासिन्दाहरूलाई ठूलो क्षति पुर्याएको थियो, तर प्रशासन र जनताको दृढ संकल्पले पुनर्स्थापनाको काम अघि बढिरहेको छ।”
उनले थप भने, सबै मिलेर यस क्षेत्रलाई पहिलेभन्दा अझ राम्रो बनाइनेछ र यसलाई नमूना विकसित गाउँका रूपमा स्थापित गरिनेछ। स्थानीय बासिन्दाको शारीरिक तथा मानसिक विकासका लागि यो जिम्नेसियम हल नयाँ ऊर्जा केन्द्र बन्ने विश्वास पनि उनले व्यक्त गरे।
क्षेत्रका विधायक तथा महिला तथा बाल विकास मन्त्री साम्डुप लेप्चाले राज्यपालप्रति आभार व्यक्त गर्दै कोख लिएको गाउँप्रति उनको प्रतिबद्धता प्रशंसनीय रहेको बताए। उनले यस विकास कार्यलाई जनसेवाको अनुकरणीय उदाहरणको रूपमा वर्णन गरे।
समारोहका क्रममा गाउँवासीहरूले कम्युनिटी हल निर्माणको माग पनि राखेका थिए। राज्यपालले उक्त माग स्वीकार गर्दै पूर्ण सहयोग गर्ने आश्वासन दिए।
यस अवसरमा मङ्गनका जिल्लापाल अनन्त जैन, पुलिस अधीक्षक एलबी छेत्री, अन्य जिल्ला अधिकारी, जनप्रतिनिधि तथा ठूलो संख्यामा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
उल्लेखनीय छ, चुङथाङ ग्राम पञ्चायत एकाइलाई राज्यपालले काख लिएका छन्, ताकि 2023 को बाढीबाट प्रभावित यस क्षेत्रको समग्र विकास सुनिश्चित गर्न सकियोस्। जिम्नेसियम हलको उद्घाटन यसै दिशामा महत्वपूर्ण कदम मानिएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल