राज्यपालले उत्तर सिक्किम यात्राको पहिलो दिन छातेन र लाचेन क्षेत्रको भ्रमण गरे
राज्यपाल उत्तर सिक्किमको भ्रमणमा


मङ्गन, 03 अप्रेल (हि.स.)। राज्यपाल ओम प्रकाश माथुरले शुक्रवार आफ्नो तीनदिने उत्तर सिक्किम यात्राको पहिलो दिन छातेन, लाचेन क्षेत्रको भ्रमण गरे। उनले लाचेनमा भारतीय सेनाको ‘अपरेशन सद्भावना’-अन्तर्गत कुल 164 जन कल्याणकारी विकास परियोजनालाई लाचेन र लाचुङका जनतालाई समर्पित गरे, जुन लाचेन र लाचुङका पिपोनलाई सुम्पिए।

समारोह 27 माउण्टेन डिभिजनका जीओसी मेजर जेनरल केएस दधिवाल, एभीएसएम, एसएम, भीएसएमको उपस्थितिमा आयोजन गरियो।

ती परियोजनाहरूमा विशेष रूपमा स्वास्थ्य सेवा संरचना, युवा सशक्तिकरण, अग्निशमन उपकरण, सामुदायिक कल्याण सुविधा, पर्यटन संवर्धन, महिला सशक्तिकरण तथा बीआरओद्वारा सड़क विकाससम्बन्धी महत्त्वपूर्ण कार्य सामेल छन्। ती पहलहरूबाट दूरस्थ क्षेत्रमा रहने स्थानीय मानिसहरूको जीवनस्तरमा उल्लेखनीय सुधार हुने आशा गरिएको छ।

समारोहअघि मुख्य अभियन्ता स्वास्तिकले राज्यपाललाई यी नवीनतम परियोजनाको विस्तृत जानकारी दिए।

राज्यपालले समारोहलाई सम्बोधित गर्दै भने, “भारतीय सेनाको ‘अपरेशन सद्भावना’ सिक्किमका दूरस्थ क्षेत्रमा विकास, सद्भावना र विश्वासको प्रतीक हो। कठिन परिस्थितिहरूमा पनि सेनाद्वारा गरिएका प्रयास सिक्किमवासीहरूप्रति उनीहरूको अटुट प्रतिबद्धता दर्शाउँदछ। सेना र स्थानीय समुदायको सामूहिक प्रयासले हामी यस क्षेत्रलाई अझ सशक्त एवं समृद्ध बनाउन सक्छौँ।”

भ्रमणको क्रममा राज्यपालले स्थानीय मानिसहरूसँग खुलेर संवाद गरे र ती चुनौतीहरूसित अवगत भए। यसअवधि राज्यपालले हालै उद्घाटित तारामचु पुलको पनि निरीक्षण गरे। यो पुलले लाचेनलाई सिक्किमका अन्य हिस्ससित पुनः जोड्दछ। यसले पर्यटन र स्थानीय अर्थव्यवस्थालाई नयाँ गति प्राप्त हुने आशा गरिएको छ।

भ्रमणको क्रममा स्थानीय प्रशासनका अधिकारी, पिपोन, जनप्रतिनिधि तथा स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande