
गान्तोक, 03 अप्रेल (हि.स.)। सिक्किम खो-खो सङ्घद्वारा आयोजित पहिलो राज्यस्तरीय खो-खो च्याम्पियनशिप रेशिथाङको खेल गाउँमा शुरु भएको छ। राज्यपाल ओम प्रकाश माथुर कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भएर कार्यक्रमको उद्घाटन गरे।
प्रतियोगितामा सब-जुनियर (महिला तथा पुरुष) तथा खुल्ला (महिला तथा पुरुष) श्रेणीमा प्रतियोगिता आयोजन गरिनेछ।
राज्यपालले उद्घाटन समारोहलाई सम्बोधित गर्दै भने, “खो-खो भारतको पारम्परिक खेल हो, जुन हाम्रो सांस्कृतिक विरासतसित गहिराइका साथ जोड़िएको छ।” उनले प्रतियोगितामा साना खेलाड़ीहरूको सक्रिय भागीदारी देखेर आफ्नो प्रसन्नता व्यक्त गरे। राज्यपालले यस खेलले युवाहरूमा सामूहिक भावना, अनुशासन र शारीरिक स्फूर्तिलाई बढ़ावा दिने बताउँदै यसलाई प्राथमिकता दिनुपर्ने बताए।
राज्यपालले राज्यका विभिन्न जिल्लाबाट कुल 24 टोली यस प्रतियोगितामा भाग लिएकोमा सन्तुष्ट व्यक्त गरे। उनले खेलाड़ी, आयोजक र प्रशिक्षकलाई शुभकामना दिए तथा सिक्किमका प्रतिभाशाली खेलाड़ी यस मञ्चबाट अघि बढ़ेर राष्ट्रिय एवं अन्तरराष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउने बताए।
आजदेखि शुरु भएको प्रतियोगिता आगामी 5 अप्रेलसम्म जारी रहनेछ। यस अवसरमा स्वास्थ्य एवं परिवार कल्याण विभागका मन्त्री जीटी ढुङ्गेल, क्षेत्र विधायक कला राई, गान्तोकका विधायक दिले नामग्यालसहित अन्यको उपस्थिति रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल