
नयाँ दिल्ली, 03 अप्रेल (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मुले देशका युवाहरू, विशेषगरी जनजातीय समुदायका प्रतिभाशाली खेलाडीहरूलाई राष्ट्रको अमूल्य सामाजिक सम्पत्ति बताउँदै उनीहरूलाई खेल क्षेत्रमा सक्रिय सहभागिता र उत्कृष्टताको दिशामा अघि बढ्न आह्वान गरेकी छन्। एक लेखमार्फत आफ्ना विचार साझा गर्दै राष्ट्रपतिले भारतका ग्रामीण तथा वन क्षेत्रहरूमा रहेका प्राकृतिक प्रतिभालाई उचित प्रशिक्षण र स्रोत-साधनमार्फत विकास गर्न सके देशले खेल क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गर्न सक्ने बताएकी छन्।
राष्ट्रपतिले जनजातीय क्षेत्रका बालबालिकामा पाइने सहज खेल प्रतिभाको उल्लेख गर्दै सीमित स्रोत-साधनका बाबजुद उनीहरूले प्रकृतिसँगै आफ्नै खेल संसार निर्माण गर्ने बताए। माटो, रुख, बीउ तथा अन्य प्राकृतिक वस्तु प्रयोग गरेर खेल सामग्री तयार पार्दै उनीहरू उत्साहपूर्वक खेल्ने गर्छन्। यस्तो स्वाभाविक रुचि र ऊर्जा आधुनिक प्रशिक्षण र सुविधासँग जोडिए अन्तरराष्ट्रिय स्तरमा सफलता हासिल गर्न सक्ने उनले बताइन्।
उदाहरण दिँदै उनले ओडिशाकी १५ वर्षीया खेलाडी अञ्जली मुन्डाको उल्लेख गरिन्, जसले ‘खेलो इन्डिया जनजातीय खेल 2026’ मा उत्कृष्ट प्रदर्शन गर्दै तीन स्वर्ण पदक जितेकी थिइन् र देशभरका युवाहरूलाई प्रेरित गरेकी छन्। यस्ता उपलब्धिले जनजातीय क्षेत्रमा प्रतिभाको कमी नरहेको, तर पहिचान र सही दिशानिर्देशको मात्र खांचो रहेको उनले बताइन्।
राष्ट्रपतिले ऐतिहासिक सन्दर्भ उल्लेख गर्दै जनजातीय समाजमा तीरन्दाजी जस्ता खेलहरूको परम्परा प्राचीन र समृद्ध रहेको बताइन्। उनले ‘सन्थाल हुल’ जस्ता ऐतिहासिक आन्दोलनहरूको उल्लेख गर्दै त्यस समय जनजातीय वीरहरूको युद्धकला, विशेषगरी तीरन्दाजीको प्रशंसा गरिएको बताइन्। साथै एकलव्यलाई प्रेरणाको स्रोतका रूपमा उल्लेख गर्दै उनको महानताले आज पनि युवाहरूलाई प्रेरणा दिइरहेको बताइन्।
मुर्मुले सरकारले सञ्चालन गरिरहेका कार्यक्रमसँगै व्यक्तिगत तथा सामुदायिक प्रयासहरूले पनि जनजातीय प्रतिभा विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताइन्। आफ्नै अनुभव साझा गर्दै उनले आफ्नो गाउँमा पनि वञ्चित वर्गका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिएको र त्यहाँ खेल प्रशिक्षण सुविधा उपलब्ध गराइएको जानकारी दिइन्।
उनले खेल केवल मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक समरसता, टोली भावना र आत्मविश्वास विकास गर्ने माध्यम भएको बताइन्। खेलमार्फत युवाहरूले आर्थिक आत्मनिर्भरता र सामाजिक सम्मान पनि प्राप्त गर्न सक्ने उनले जोड दिइन्। प्रतिस्पर्धासँगै मित्रता र सहकार्यको भावना विकास हुने भएकाले यसले समाजलाई बलियो बनाउने उनले बताइन्।
राष्ट्रपतिले ‘खेलो इन्डिया’ अभियानको प्रशंसा गर्दै यसले देशमा खेल संस्कृतिलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिएको बताइन्। पहिले खेल सुविधा मुख्यतः महानगरमा सीमित भए पनि अहिले ग्रामीण तथा जनजातीय क्षेत्रमा पनि खेल एकेडेमी र प्रशिक्षण सुविधाहरू विस्तार भइरहेका छन्, जसले प्रतिभाशाली खेलाडीहरूलाई अगाडि बढ्न अवसर दिएको छ।
उनले ‘खेलो इन्डिया जनजातीय खेल 2026’ जस्ता कार्यक्रमहरूलाई जनजातीय खेलाडीका लागि महत्वपूर्ण मञ्च भएको बताउँदै यसले आधारभूत तहका खेलाडीहरूलाई पहिचान र अवसर प्रदान गरिरहेको उल्लेख गरिन्। यस्ता प्रयासहरूले देशमा समावेशी खेल प्रणाली विकास भइरहेको उनले बताइन्।
राष्ट्रपतिले भारतीय खेल इतिहासको सन्दर्भ दिँदै सन् 1928 मा भारतले हक्कीमा पहिलो ओलम्पिक स्वर्ण पदक जितेको र त्यसमा जनजातीय खेलाडीहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गरिन्। वर्तमान समयमा पनि जनजातीय समुदायका खेलाडीहरूले भारतीय टोलीलाई मजबुत बनाइरहेको उनले बताइन्।
उनले हालका वर्षहरूमा आयोजित बस्तर र सरगुजा ओलम्पिक जस्ता खेलकुद कार्यक्रममा ठूलो संख्यामा युवाहरूको सहभागिता देखिएको र धेरै युवाहरूले भटकिएको बाटो छोडेर खेलमार्फत सकारात्मक दिशा अपनाएको बताइन्।
राष्ट्रपतिले निष्कर्षमा भनिन्, जनजातीय युवासहित देशका युवा पुस्ताको खेल प्रतिभा भारतको अमूल्य सामाजिक सम्पत्ति हो। यसको सही उपयोग गर्दै भारतले खेल क्षेत्रमा नयाँ उचाइ हासिल गर्ने र विश्वस्तरमा आफ्नो पहिचान सुदृढ गर्ने विश्वास उनले व्यक्त गरिन्।
हिन्दुस्थान समाचार / भवानी थामी