
गान्तोक, 03 अप्रेल (हि.स.)। प्रेस क्लब अफ सिक्किमले वरिष्ठ कवि, पत्रकार तथा भाषा अभियन्ता पदम छेत्रीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। उनको बिहिबार दिउँसो करिब १२ बजी सिलगढ़ीको दुर्गागढीस्थित निवासमा निधन भएको हो। उनी पछिल्लो छ महिनादेखि पक्षघातको उपचार गराइरहेका थिए।
प्रेस क्लबका अध्यक्ष भीम राउतले आज जारी शोक सन्देशमा भने, स्व. छेत्री पत्रकारिता तथा नेपाली साहित्य क्षेत्रमा सम्मानित व्यक्तित्व थिए, जसले भाषा र साहित्यिक अभिव्यक्तिप्रति गहिरो समर्पण देखाएका थिए। १७ मई, १९५१ मा मेघालयको तुरामि जन्मिएका छेत्रीले विशेष गरी १९९० को दशकमा सिलगढ़ीमा रहँदा लोकप्रिय नेपाली दैनिक ‘सुनचरी समाचार’ का कार्यकारी सम्पादकका रूपमा महत्वपूर्ण योगदान दिएका थिए। उनले गान्तोकमा ‘नयुमा टेलिभिजन’ का प्रधान सम्पादक तथा पछि हिन्दी दैनिक ‘नित्य समय’ का मुख्य सम्पादकका रूपमा पनि सेवा दिएका थिए।
एक उत्कृष्ट कविका रूपमा उनले ‘तुराका नेपालीहरू’, ‘आदिम सडक’ र ‘उज्यालोको दमित आकांक्षा’ जस्ता कृतिहरू प्रकाशित गरेका छन्। उनका कविता र गद्य रचनाहरू विभिन्न पत्रपत्रिका तथा साहित्यिक मञ्चहरूमा प्रकाशित हुँदै आएका थिए, जसले उनलाई पाठक र साहित्यिक समुदायमा विशेष पहिचान दिलाएको थियो।
सिक्किम प्रेस क्लबले पत्रकारिता तथा साहित्यमा उनले पुर्याएको अमूल्य योगदानको कदर गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। उनको निधन मिडिया जगत र नेपाली साहित्य क्षेत्रमा ठूलो क्षति भएको जनाएको छ।
पारिवारिक स्रोतका अनुसार, स्व छेत्रीको दाह संस्कार शुक्रबार बिहान १०:०० देखि ११:०० बजीसम्म गरिनेछ।
---------------
हिन्दुस्थान समाचार / बिशाल